रामजानकी विद्यालयमा दुई तल्ले भवन निर्माणको शिलान्यास

सम्वादाता | २०८२ जेठ १२ गते ०४: ५० मा प्रकाशित

वीरगन्ज l वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित श्री रामजानकी माध्यमिक विद्यालयमा नयाँ दुई तल्ले भवन निर्माणको लागि भूमि पूजन तथा शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

उक्त भवन निर्माणको लागि प्रतिनिधि सभा सदस्य माननीय बिना देवी जैसवालले आफ्नो संसदीय विकास कोष मार्फत रु १ करोड विनियोजन गरेकी छन्। सोही रकमबाट विद्यालय परिसरमा आधुनिक सुविधासम्पन्न दुई तल्ले पक्की भवन निर्माण गरिने भएको हो।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद जैसवालले शिक्षा क्षेत्रमा लगानी गर्नु भविष्यको लागि लगानी हो भन्ने विश्वासका साथ यो योजना अघि बढाइएको बताइन्। “शिक्षा नै परिवर्तनको आधार हो। ग्रामीण क्षेत्रका बालबालिकाले पनि गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरणमा पढ्न पाउनुपर्छ,” उनले भनिन्।

उनले थपिन्, “सरकारको स्रोत सीमित भए पनि, हामी जनप्रतिनिधिहरूले आफूले पाएको अधिकारको सदुपयोग गर्दै जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न कर्तव्यबद्ध छौं।”

भूमि पूजन र शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय समुदायमा शिक्षा विकासप्रति सकारात्मक उत्साह र विश्वास पैदा गराएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सांसद जैसवालप्रति आभार प्रकट गर्दै भन्नुभयो, “यो भवन निर्माणले विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित कक्षा कोठामा अध्ययन गर्न सहज बनाउनेछ। यसले विद्यालयको भौतिक पूर्वाधारमा गुणात्मक सुधार ल्याउनेछ।”

स्रोतका अनुसार, भवन निर्माण कार्य निकट भविष्यमा ठेक्का प्रक्रिया सम्पन्न गरी सुरु गरिनेछ। भवनमा कक्षा कोठा, कार्यालय कक्ष, शौचालय, र अन्य सहायक संरचना रहनेछन्।

प्रतिक्रिया दिनुहोस्