भन्सार एजेन्टहरूको विरोध, आज तीन घण्टा काम बन्द

सम्वादाता | २०८२ जेठ १२ गते ०४: २२ मा प्रकाशित
वीरगञ्ज । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिवारीमाथि भन्सार परिसरभित्रै भएको कुटपिटको घटनाले भन्सार एजेन्टहरू आक्रोशित भएका छन् । हिजो वीरगञ्ज भन्सार एजेन्ट संघ, पर्सा र भन्सार एजेन्ट महासंघ नेपालले आ–आफ्ना प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन । 
वीरगञ्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङद्वारा जारी विज्ञप्तिमा यस्तो आपराधिक र निन्दनीय घटनाले सम्पूर्ण भन्सार एजेन्टहरू स्तब्ध भएको उल्लेख गरिएको छ । संघले दोषीमाथि छानबिन गरी कडा कारबाहीको माग गर्दै यस्तो घटना पुनः नदोहोरियोस् भन्ने चेतावनी पनि दिएको छ ।
यता भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्रशान्तकुमार गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघले घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । विज्ञप्तिमा उल्लेख गरिए बमोजिम आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पूर्ण भन्सार एजेन्टहरूले शान्तिपूर्ण विरोध स्वरूप स्वचालित प्रणाली (पेन डाउन) बन्द गरेका थिए ।
महासंघले उक्त घटनाको निष्पक्ष छानबिन गरिनुका साथै भन्सार कार्यालयभित्रको सुरक्षालाई थप मजबुत बनाउन पनि सम्बन्धित निकायसँग माग गरेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्