मृत्युपछि आइसीयूमा ?

नेशनल मेडिकल कलेजको भूमिकामाथि गम्भीर प्रश्न

सम्वादाता | २०८२ जेठ १२ गते ०३: ४६ मा प्रकाशित

वीरगञ्ज — वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा शनिबार एक बिरामीको मृत्युपछि उत्पन्न भएको विवाद गम्भीर मोडमा पुगेको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच विवाद चर्किंदै गएपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले घटनालाई थप चर्चामा ल्याएको छ । भिडियोमा परिवारजन र स्वास्थ्यकर्मीबीचको भनाभन प्रस्ट सुनिन र देखिन सकिन्छ ।
    स्रोतका अनुसार, मृतकको परिवारले बिरामीको मृत्यु भइसकेपछि पनि अस्पतालले उनलाई जिउँदो भन्दै आइसीयूमा भर्ना गराउन खोजेको गम्भीर आरोप लगाएका छन् । पीडित पक्षको दाबीअनुसार, मृतकको शारीरिक अवस्था हेर्दा पनि उनले सास लिइरहेका थिएनन्, तर चिकित्सकहरूले उनी ‘संभावित बच्न सक्ने अवस्थामा’ रहेको भन्दै उपचारको नाममा भर्ना गर्न दबाब दिएका थिए ।
    मृतकको परिवारलाई अस्पताल प्रशासनले घटनालाई लुकाउन आर्थिक लेनदेन गरेको श्रोतको दावी छ । उनीहरूको भनाइ अनुसार, अस्पतालले घटनाबारे उजुरी नदिन आग्रह गर्दै पैसा दिने प्रस्ताव समेत गरेको थियो । यो विषयमा हालसम्म कुनै स्पष्ट प्रमाण सार्वजनिक नभए पनि, भाइरल भएको भिडियोले घटनालाई गम्भीर बनाएको छ।
    घटनापछि जनस्तरमा आक्रोश फैलिइरहँदा पनि नेशनल मेडिकल कलेज प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अस्पतालले आफ्नो धारणा स्पष्ट नगरेसम्म जनआस्था झनै कमजोर हुने सम्भावना देखिएको छ ।
    घटनाले स्थानीय समाजमा ठूलो तरंग उत्पन्न गरेको छ । सामाजिक अभियन्ता, मानवअधिकारकर्मी तथा स्थानीय नागरिकहरू यस विषयको गहिरो र निष्पक्ष छानबिनको माग गर्दै छन् । उनीहरू भन्छन्—“यदि मृतकको परिवारमाथि दबाब दिइएको हो र पैसा दिएर घटनालाई दबाउन खोजिएको हो भने यो केवल चिकित्सा नैतिकताको उल्लंघन मात्र नभई आपराधिक कृत्य पनि हो ।”
    यो घटना केवल एक अस्पतालभित्रको विवाद होइन, यो आम नागरिकको स्वास्थ्यप्रतिको विश्वास र संस्थागत पारदर्शिताको सवाल हो । मृतकप्रति न्याय होस् र दोषीलाई कानूनी कारबाही गरियोस् भन्ने मागसँगै जनस्तरबाट दबाब बढ्दो छ । अबको ध्यान केन्द्र सरकार, स्वास्थ्य मन्त्रालय, र प्रहरी प्रशासनको जिम्मेवारीमा हुनेछ कि उनीहरूले सत्यतथ्य पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन सक्छन् कि सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्