दूरदृष्टि दोष बारे जनचेतना फैलाउन जनचेतनामूलक र्‍याली

सम्वादाता | २०८२ जेठ १० गते ०३: २७ मा प्रकाशित

वीरगञ्ज l आँखा सम्बन्धी रोग मायोपिया (दूरदृष्टि दोष) बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज वीरगञ्जमा एक जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ। दृष्टि आँखा अस्पतालको सहकार्यमा वीरगञ्ज महानगरपालिका तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त आयोजनामा गरिएको उक्त ¥यालीले नगरका मुख्य–मुख्य सडक परिक्रमा गर्दै सर्वसाधारणलाई आँखाको स्वास्थ्य र मायोपिया रोगको प्रभावबारे जागरुकता फैलाएको हो।

र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई आदर्शनगर, त्रिवेणी मार्ग, माइस्थान, इनर सर्कल हुँदै पुनः घण्टाघरमा पुगेर समापन गरिएको थियो।र्‍यालीमा सहभागिहरूले 'आँखाको नियमित परीक्षण गरौं', 'मायोपिया समयमै पत्ता लगाऔं', 'बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट बचाऔं' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, स्थानीय प्रतिनिधिहरू तथा दृष्टि आँखा अस्पतालका चिकित्सक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दृष्टि आँखा अस्पतालका प्रतिनिधिहरूले मायोपिया रोगको प्रारम्भिक लक्षण, कारण, रोकथाम र उपचार सम्बन्धी जानकारी प्रदान गरेका थिए। विशेषगरी बालबालिका र किशोरकिशोरीहरूमा यो समस्या तीव्र रूपमा बढ्दो रहेकोले समयमै परीक्षण, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोगमा नियन्त्रण र पौष्टिक आहारको सेवनमा जोड दिन आग्रह गरिएको थियो।

कार्यक्रमले आँखा स्वास्थ्यप्रति नागरिकको चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूको रहेको छ। महानगरपालिका तथा सह–आयोजक संघ–संस्थाहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ धेरै समुदायसम्म पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्