प्रेस चौतारी मधेश प्रदेशको पहिलो बैठक सम्पन्न

अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको आयोजना गरिने

सम्वादाता | २०८२ जेठ १० गते ०१: ३२ मा प्रकाशित

वीरगञ्ज । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले यसै वर्ष अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने बताएका छन् ।
    अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको प्रथम बैठकको महोत्तरीको बर्दिबासमा उद्घाटन गर्दै यसै वर्ष अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको आयोजना गर्नेगरी तयारी थालिएको जानकारी गराए ।
    पाण्डेले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आगामी माघ महीनामा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने र सम्मेलनमा संसारभरिका मिडियासम्बद्ध सङ्घसंस्था र व्यक्तिहरूको सहभागिता हुने जानकारी गराए । उनले अन्तर्राष्ट्रिय मिडिया सम्मेलनले नेपाली मिडियाबारे अन्तर्राष्ट्रिय चासो बढाउने अपेक्षा लिइएको बताए ।
    चौतारी मधेस प्रदेशको आजको बैठकमा नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा मधेस मिडिया समिटबारे तयारी गरिने निर्णय पनि भएको छ ।
    बैठकमा चौतारीका उपाध्यक्ष चेतन अधिकारी र महासचिव हीरामान लामाले यो वर्षलाई सङ्गठनले प्रशिक्षण वर्षका रूपमा मनाउन लागेको हुँदा मातहतका सबै समिति तयारीमा लाग्न अपील गरे ।
   बैठकले प्रेस चौतारी नेपाल मधेस प्रदेशका संस्थापक अध्यक्ष स्व फणिदेव महतको स्मृतिमा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रारम्भमा कदरपत्रसहित २५ हजार राशिको यो पुरस्कार मधेसका जनसरोकारका विषयमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने चौतारीका मधेस प्रदेश अध्यक्ष लालबाबू शेखले बताए । वार्षिकरूपमा प्रदान गरिने यो पुरस्कारको छुट्टै कोष बनाईने जनाईएको छ ।
    बैठकमा नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, चौतारीका प्रदेश संयोजक अच्युत पौडेलसहित चौतारीका मधेस प्रदेशका पदाधिकारी, सदस्य तथा केन्द्रीय सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्