वीरगञ्जमा ट्राफिक सचेतना, ट्राफिक नियम सचेतना आयोजकको लक्ष्य

सम्वादाता | २०८२ जेठ ९ गते १२: ०९ मा प्रकाशित

वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय पर्साद्वारा जिल्लामा पछिल्लो समय तीव्र रूपमा वृद्धि भइरहेका सडक दुर्घटनालाई मध्यनजर गर्दै “समृद्धि नेपाल र व्यवस्थित वीरगञ्ज” अभियानको संयुक्त पहलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
    वीरगञ्ज घन्टाघरको मुख्य चोकमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षामा जनसहभागिता अभिवृद्धि गर्नु र ट्राफिक नियमप्रति समुदायलाई सचेत तुल्याउनु रहेको आयोजकहरूले जनाएका छन् ।
    कार्यक्रमका क्रममा दुर्घटनाको यथार्थ चित्रण गर्ने भिडियो तथा वृत्तचित्रहरू प्रोजेक्टरमार्फत देखाइए । ति भिडियो र वृत्तचित्रले सडक नियम उल्लंघन गर्दा निम्तिने जोखिमलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेको थियो । सोही अवसरमा सवारी चालकका लागि आवश्यक सावधानी, पैदल यात्रुको अधिकार, ट्राफिक संकेतहरूको प्रयोग र हेलमेटको अनिवार्यता जस्ता विषयमा व्यापक जानकारी प्रदान गरिएको थियो ।
    कार्यक्रममा विभिन्न वर्ग र तप्काका सयौं सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । ट्राफिक नियम पालना सम्बन्धी जनचेतना अभिवृद्धिमा कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
    समृद्धि नेपालका अध्यक्ष सुरज सरार्फले पर्सा जिल्लाका अन्य क्षेत्रहरूमा यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए ।
    कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रनानि लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।
    यस्ता कार्यक्रमले वीरगञ्ज क्षेत्रका नागरिकमा ट्राफिक नियम पालनाको चेतना वृद्धि गराउँदै दीर्घकालीन रूपमा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने कुरामा आयोजकहरु विश्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्