सशस्त्रद्वारा भारी मात्रामा लागुऔषध बरामद

सम्वादाता | २०८२ जेठ ७ गते ०२: १६ मा प्रकाशित

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले महानगरको वडा नम्बर २ स्थित भकुवा नाकामा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले ८१ हजार ४९० ट्याब्लेट लागूऔषध बरामद गरेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहको टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना भरिया लागुऔषध छाडेर भागेका थिए ।
    फरार भरियाहरूले बोकेको पोकाबाट ट्रामोल ५० एमजी (ट्रामाडोल हाईड्रोक्लोराईड) नामक ८१ हजार ४९० ट्याब्लेट लागुऔषध बरामद गरिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले दिए ।
    बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने फरार रहेका तस्करहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
    बारा–पर्साका सीमावर्ती क्षेत्रहरुबाट हाल व्यापक तस्करी भईरहेको अवस्थामा पर्सामा तस्करी नियन्त्रणकै लागि वीरगञ्जका विभिन्न ८ ठाउंमा सिसि क्यामेराहरु जडान गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्