सञ्चारकर्मीलाई धम्क्याएको प्रति विभिन्न संस्थाद्वारा विरोध

दोषी उपर कार्यवाही नभए आन्दोलनको चेतावनी

सम्वादाता | २०८२ जेठ ७ गते १२: ५७ मा प्रकाशित
पर्सा । बाराको विश्रामपुर गाउँपालिकामा अनियमितता सम्बन्धी समाचार प्रसारणपछि प्राइम टेलिभिजन लगायत अन्य सञ्चाचरमाध्यमहरुमा कार्यरत सञ्चारकर्मी राजु बैठालाई स्थानीय समूहले दिएको धाकधम्की र गालीगलौजप्रति नेपाल पत्रकार महासंघ पर्सा, प्रेस चौतारी नेपाल पर्सा तथा राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरी घट्ना प्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
 
वीरगञ्ज सिटी डट कममा प्रशारित ‘विश्रामपुर गाउँपालिकामा मिलेमतोमा अनियमितता, एकातर्फ तटबन्धन निर्माण अर्कोतर्फ ५-५ फिट माटो खनेर बिक्री’ शीर्षकको भिडियो रिपोर्टलाई लिएर स्थानीय टइट यादवसहितको समूहले पत्रकार बैठाको घर अगाडी रातिको समयमा गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिएको प्रति नेपाल पत्रकार महासंघका सचिव विजय चौहानद्वारा जारी विज्ञप्तीमा “प्रसारित समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो अपनाउन सकिन्छ । तर पत्रकारलाई भौतिक आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो र यसको हामी घोर भत्र्सना गर्दछौँ ।” भनिएको छ ।
यसैगरी प्रेस चौतारी नेपाल पर्सा शाखाका सचिव कृष्ण कुश्वाहाद्वारा जारी विज्ञप्तीमा पत्रकार बैठाको घरमा पुगी दिईएको गालीगलौज र धम्कीपूर्ण व्यवहारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
साथै सम्बन्धित निकायसंग यस्ता कार्यमा संलग्न व्यक्तिहरुमाथि कानूनी कारवाहीको माग गर्दै पत्रकारको सुरक्षाका लागि तुरुन्त आवश्यक कदम चाल्न जोडदार माग विज्ञप्ती मार्फत गरिएको छ ।
यता राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाले उक्त घटनाको कडा निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
पत्रकार बैठाले विश्रामपुर गाउँपालिकामा भएको अनियमितताबारे समाचार प्रकाशन गरेपछि स्थानीय स्तरमा विवाद उत्पन्न भएको थियो । समाचारमा गाउँपालिकाको मिलेमतोमा तटबन्ध निर्माणमा अनियमितता र माटो बिक्रीको विषय उठाइएको थियो । यही समाचारलाई लिएर टैइट यादवले पत्रकार बैठाको घरमै पुगेर गालीगलौज र धम्की दिएको आरोप छ । यो घटनाले पत्रकारिता क्षेत्रमा स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाका अध्यक्ष उपेन्द्र पासवानद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घटनालाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा लिइएको छ । संघले समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपाल वा अदालतमा कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै धम्कीको बाटो अपनाउनु निन्दनीय भएको ठहर गरेको छ । विज्ञप्तिमा थप भनिएको छ, “स्वतन्त्र प्रेसमाथि हस्तक्षेप हुने गरी भएको कुनै पनि कार्य राष्ट्रिय दलित पत्रकार सङ्घलाई सह्य हुने छैन । घटनालाई प्रश्रय दिने व्यक्ति वा संस्थाविरुद्ध संघ उभिन बाध्य हुनेछ ।”
राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाले दोषीले आफ्नो व्यवहार नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष पासवानले पत्रकार र पत्रकारिताको हितका लागि कुनै पनि प्रकारको दबाब वा धम्कीलाई स्वीकार नगर्ने अडान दोहो¥याएका छन् । उनले भने, “पत्रकारमाथि भएको यो धम्की केवल एक व्यक्तिमाथिको आक्रमण होइन, यो समग्र पत्रकारिता क्षेत्र र प्रेस स्वतन्त्रतामाथिको हमला हो । हामी यो विषयलाई गम्भीर रूपमा लिएका छौँ ।”
स्थानीय पत्रकारहरूले घटनालाई पत्रकारिताको स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा लिएका छन् । बारा जिल्लामा पत्रकारहरूले विभिन्न समयमा यस्ता धम्की र दबाबको सामना गर्नुपरेको गुनासो बढ्दै गएको छ । विश्रामपुर गाउँपालिकाका केही बासिन्दाले पनि पत्रकार बैठाले उठाएको अनियमितताको विषयमा छानबिनको माग गरेका छन् ।
महासंघले पत्रकारको सुरक्षालाई सुनिश्चित गर्न तथा दोषीमाथि तत्काल कानूनी कारबाही गर्न सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । साथै, प्रेस स्वतन्त्रता र पत्रकारको आत्मसम्मान जोगाउन सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्ने आग्रह समेत गरिएको छ ।
यो घटनाले पुनः एक पटक पत्रकारहरू जोखिमपूर्ण वातावरणमा कार्यरत छन् भन्ने यथार्थ उजागर गराएको महासंघले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्