काडमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलटहरू आन्दोलनमा उत्रिएपछि नियमति उडानमा रहेका हजारौं यात्रुले सास्ती पाएका छन् ।
निगमका पाइलटहरू गत कात्तिक पहिलो सातादेखि सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएपछि विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य जाने यात्रुहरूले सास्ती पाएका हुन् ।
आइतबार दिउँसो काठमाडौंबाट मुम्बई जानुपर्ने निगमको उडान तोकिएको समयमै हुन नसक्दा उता कुरेर बसेका डेढ सय हाराहारी यात्रुको बिचल्ली भएको एक यात्रु पुनम सिंहले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । निगमले यात्रुको सुरक्षा र सुविधामा सम्झौता गरेको भन्दै उनले आक्रोश पोखिन् ।
मुम्बईस्थित छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो उड्नुपर्नेमा जहाज काठमाडौंबाट नगएपछि यात्रुलाई विभिन्न होटलमा कोठा सेयर गरेर बस्न भनिएको भन्दै उनले लेखेकी छिन् ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
उडान रोकिएका गन्तव्यमा निगमले यात्रुलाई होटलमा राख्ने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्