एनपीएलको खेल तालिका दुई दिनमा सार्वजनिक हुने

सम्वादाता | २०८१ मंसिर १ गते ०७: ४३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलतालिका दुई दिन भित्र सार्वजनिक हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित टाइटल स्पोनर र ब्रोडकास्ट पार्टर घोषणा कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई दिनभित्रै खेलतालिका सार्वजनिक गर्ने जानकारी दिए । ‘हाम्रो योजना अनुसार हामी अबको दुई दिन भित्र एनपीएलको खेलतालिका सार्वजनिक गर्नेछौँ ।’

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अहिले लिगको तयारी तिव्र भइरहेको छ । मंसिर १६ गते काठमाडौं सहित विभिन्न स्थानमा उपनिर्वाचन छ । निर्वाचनका दिन कुनै खेल नहुने पनि सचिव खड्काले बताए ।

‘मंसिर १६ गते कुनै खेल हुँदैन । १६ गतेका लागि सिडियोसँग कुरा गरिसकेका छौँ । नेपालको कानुन र निर्वाचन आचारसंहिता हुन्छ त्यसलाई मध्यनजर गर्दै त्यो दिन खेल हुँदैन । प्रशासनसँग नजिकबाट सहकार्य गरेर म्याच गर्दैनौँ । संयोगवस त्यो दिन निर्वाचन कीर्तिपुरमै रहेछ ।’ उनले खेल नहुने बारे प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्