टेकुबाट भद्रकालीस्थित आधुनिक नयाँ भवनमा काठमाडौं प्रहरी

सम्वादाता | २०८१ असार २३ गते ०७: २० मा प्रकाशित
काठमाडौं- जिल्ला जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित आधुनिक सुविधासहितको आफ्नै नयाँ भवनमा सरेको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि हनुमान ढोकाबाट टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ्ग लिमिटेड हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालयको परिसरमा बसेको प्रहरी परिसर शनिबार भद्रकालीस्थित आधुनिक नयाँ भवनमा सर्न लागेको हो ।

अबदेखि भद्रकालीस्थित जग्गामा भवन निर्माण पूरा भएपछि शनिबार स्थानान्तरण हुने भएको हो । शनिबार सरेपछि आइतबारदेखि त्यहीँबाट काठमाडौं प्रहरीले काम थाल्नेछ ।

आफ्नै भवन नहुँदा काठमाडौं प्रहरी निगमको पुरानो भवनमा बस्दै आएको थियो । परिसरमा कार्यरत प्रहरीहरू लामो समय त्रिपालमुनि बसेका थिए ।

पुरानो भवनमा बस्दा कष्टपूर्ण रुपमा कार्यालय सञ्चाल गरेको परिसरका लागि सरकारले आधुनिक नयाँ भवन बनाइदिएको हो ।

कृषि विकास बैंकको पछाडि १५ रोपनी जग्गामा परिसरको भवन बनेको हो । आठतले यो भवन ८० करोड रुपैयाँमा तयार भएको हो । यो भवनसहितका संरचना ६ रोपनी क्षेत्रफलमा छन् ।

यो भवनमा लिफ्ट सुविधा पनि छ । यस भवनको नेपाल प्रहरीका प्रमुख प्रमुख वसन्त कुँवरले उद्घाटन गर्दैछन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले आइतबारबाटै यो भवनबाट काम थालिने बताए ।

प्रतिक्रिया दिनुहोस्