इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा मन्त्री यादवको अनुगमन

मन्त्री यादवले महाशाखाका कर्मचारीहरूको हौसला बढाउँदै समस्या समाधानका लागि मन्त्रालयले सबै तहबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।

सम्वादाता | २०८१ असार १७ गते १६: ५३ मा प्रकाशित

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिनुभएको छ ।

मन्त्री यादवले महाशाखा अन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगतिका साथै कामका दौरानमा आउने चुनौतीहरूको बारेमा जानकारी लिनुभयो । महाशाखा निर्देशक डा। यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्रीलाई जानकारी गराउनुभयो ।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो । यसबारेमा मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको बताउँदै महाशाखा र मातहतका शाखाहरूलाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, उहाँले डेंगी नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्ने निर्देशन दिनुभयो ।

उहाँले छलफलका क्रममा नेपालमा रेबिज विरुद्धको खोप उत्पादनको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने र रोग नियन्त्रण, रोकथाम तथा अन्य गतिविधिहरूको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । मन्त्री यादवले महाशाखाका कर्मचारीहरूको हौसला बढाउँदै समस्या समाधानका लागि मन्त्रालयले सबै तहबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।

“महाशाखाका चुनौतीहरूको समाधान गर्दै, जनस्वास्थ्यको सुधारमा महत्त्वपूर्ण कदम चाल्न हामी सबै प्रतिबद्ध छौँ,” मन्त्री यादवले भन्नुभयो, “हामीले बजेट र जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछौँ ।”

छलफलमा मन्त्रालयका सचिव हरि प्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा। सङ्गीता मिश्रलगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्