मालपोत पर्साका तत्कालीन प्रमुखसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

सम्वादाता | २०८१ असार ७ गते १६: ३५ मा प्रकाशित

पर्सा - मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई विशेष अदालत काठमाडौंले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले मंगलबार दोषी ठहर गर्दै उनीहरूलाई जनही २ देखि ८ वर्षसम्म कैदसमेत निर्धारण गरेको हो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना अधिकृतहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो । मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले मालपोत अधिकृत हरिनारायण मिश्रलाई ८ वर्ष, भूपबहादुर बोगटीलाई ८ वर्ष, गोपालबहादुर ढुङ्गानालाई ४ वर्ष पदमप्रसाद अर्याललाई २ वर्ष र कमोद तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निधन भइसकेको छ। उनलाई विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ । उपाध्यायको यो बिगो अब विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गर्नुपर्ने फैसला गरिएको छ ।

मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९०, ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने छ । चन्द्रप्रसाद भण्डारीले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्