काठमाडौं । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’
त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिँदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविदले गरेका हुन् ।
वरिष्ठ मौसमविद प्रधानाङ्ग लगातार गर्मी बढ्दा लु चल्ने बताउँछन् । अहिले नै लु चल्ने भनेर भविष्यवाणी भने नगर्ने उनले बताए । ‘हामीले त्यसलाई नियालिरहेका छौं, लु चल्यो भने बुलेटिनमार्फत् जानकारी दिन्छौं ।’
धनगढी, नेपालगञ्ज, जनकपुर लगायत तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्यस आसपाससम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो ।
प्रतिक्रिया दिनुहोस्