बाघको आक्रमणबाट मान्छेलाई घाइते बनाउने स्थानीयले मारे

सम्वादाता | २०८१ बैशाख ३० गते ०३: ४० मा प्रकाशित

पर्सा- पर्साको सखुवाप्रसौनी गाउँपालिका - १ औराहामा शनिवार अपराह्न बाघको आक्रमणबाट एक स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् । उनको हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

मकैवारि नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेर लैजान थालेपछि नजिककै रहेका अरू मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।

महतोलाई आक्रमण गरेको बाघलाई उनका गाउँका मानिसहरूले घेरा हालेर बञ्चरो, भाला र लट्ठीले हानेर मारिदिएको प्रहरीले जनाएको छ ।  

स्थानीयको आक्रमणबाट मरेको बाघ अहिले घटनास्थलमै छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।

प्रतिक्रिया दिनुहोस्