पहिलोपटक सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको दुई महिनामै मृत्यु

सम्वादाता | २०८१ बैशाख ३० गते ०३: १७ मा प्रकाशित

बोस्टन । अनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामीको करिब दुई महिनाछि मृत्यु भएको छ । ६२ वर्षका रिचार्ड रिक स्लेम्यानलाई गएको मार्च महिनामा अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सर्जनले त्यतिबेला सुँगुरको मिर्गौलाले कम्तिमा दुई वर्षसम्म काम गर्ने दाबी गरेका थिए ।

तर, उनको मृत्यु भएका कारण म्यासाचुसेट्स हस्पिटलको मिर्गौला प्रत्यारोपण टोलीले एक वक्तव्य जारी गरी स्लेम्यानको निधनको खबरले गहिरो दुःख लागेको जनाएको छ । टोलीले परिवारका सदस्यलाई समवेदना समेत व्यक्त गरेको छ । उनको मृत्यु प्रत्यारोपणका कारण नै भएको भन्नेबारेमा आफूहरूले कुनै संकेत नपाएको समेत जनाएका छन् ।

उनलाई मिर्गौला प्रत्यारोपणपछि अप्रिल २ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई प्रत्यारोपण गरिएको मिर्गौला क्याम्ब्रिजमा रहेको फार्मास्युटिकल कम्पनी इजेनेसिसले उपलब्ध गराएको थियो । स्लेम्यानको पहिलोपटक सन २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएकोमा त्यो असफल भएको संकेत पाएपछि डायलसिस गर्नु परेको थियो । जब डायलसिसमा पनि जटिलता आयो त्यसपछि चिकित्सकले सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।

मृतकको परिवारले शनिबार एक वक्तव्य जारी गरी उनको मिर्गौला प्रत्यारोपणमा सघाउने चिकित्सक टोलीलाई धन्यवाद दिएको छ । यसअघि सुँगुरको मिर्गाैला ‘ब्रेन डेथ’ व्यक्तिमा परीक्षणका लागि प्रत्यारोपण गरिएको थियो भने दुई मानिसलाई सुँगुरको मुटु प्रत्यारोपण गरिएकोमा दुवैको केही महिनाभित्रै मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस्