घरधनीको खटपटले बन्द भयो निदान अस्पताल

सम्वादाता | २०८१ बैशाख ३० गते ११: ०० मा प्रकाशित

काठमाडौं । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालको ढोकामा ताला झुण्ड्याइएको छ । छेउमा एउटा सूचना पनि टाँसिएको छ, जसले अस्पतालमा ताला घरधनीले लगाएको प्रष्ट हुन्छ । सम्झौता अनुसार भवनको भाडा नतिरेको र यसबारे जानकारी गराउँदा पनि अस्पताल सञ्चालकहरु सम्पर्कमा नआएकाले २० वैशाखमा आफूहरुले एकतर्फी रुपमा ताला लगाएको घरधनीको सूचनामा उल्लेख छ ।

घरधनीले अस्पतालमा ताला लगाउनुभन्दा अघि नै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले काम छाडेका थिए ।

अस्पताल व्यवस्थापकले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले संघर्ष समिति नै बनाएका थिए । समितिले ७ दिनभित्र बाँकी पारिश्रमिक भुक्तानी गर्न र आफूहरुको तलबबाट काटिएको (टीडीएस) जम्मा गर्न अस्पताल प्रशासनलाई १७ माघ २०८० मा लिखित रुपमा आग्रह गरेको थियो ।

अस्पताल प्रशासनले नसुनेपछि संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, ललिपुरमा उजुरी दर्ता गर्‍यो । प्रशासनले उजुरी उपर आवश्यक कारबाही गर्नका लागि जिल्ला प्रहरी परिसर जावाखेल, श्रम तथा रोजगार कार्यालय, टेकुलाई पत्रचार गरेपनि समस्या समाधान भएन । त्यसपछि उनीहरुले काम नै रोकेका हुन् ।अहिले घरधनीले सम्झौता पालना नगरेको भन्दै अस्पतालमा ताला लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्