मङ्गलवार भएको वर्षाले पर्साका किसानहरूलाई फाइदा

सम्वादाता | २०८१ बैशाख २७ गते ११: २५ मा प्रकाशित

सेढवा, लामो  अन्तरालपछि मङ्गलवार भएको वर्षाले पर्साका ग्रामीण भेगका किसानहरूले लगाएका चैते धानबालीलाई फाइदा पुगेको छ । लामो समयदेखि वर्षा नभएको कारण जमीनमा भएका विभिन्न किसिमका बिरुवाहरूसमेत झोक्रिएका थिए । तर यो वर्षाले यी बोटबिरुवाहरू पुनः पलाउन थालेका छन् ।

मङ्गलवार दिउँसोदेखि भएको वर्षाले किसानले लगाएका चैते धानबालीका साथसाथै सुर्ती, मकै, उखु तथा विभिन्न किसिमका तरकारी बालीहरूलाई निकै फाइदा पुगेको छ । जीराभवानी गाउँपालिका वडा नं ५ सखुवनियाका मुक्तिनारायण चौधरीका अनुसार लामो समयदेखि वर्षा नभएकोले चैते धानबालीमा साताको दुईपटक सिंचाइ गर्नुपरेको बताए । अझै जमीन एकदमै सुक्खा भएकोले धानबालीमा सिंचाइ गरेको एक दिनमै पानी सुक्ने गरेको चौधरीले बताए ।

त्यस्तै, ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरका किसान हरिप्रसाद चौलागाईंका अनुसार यो वर्षाले सबै बालीलाई एकदमै फाइदा पुगेको र किसानलाई सिंचाइ गर्न राहत पुगेको बताए । वर्षा भएपछि दमकल वा वाटर पम्प प्रयोग गरी भूमिगत सिंचाइ गर्दा खेतमा पानी लामो समयसम्म टिक्ने किसान चौलागाईंले बताए । यो वर्षाले वायुमण्डलमा रहेका धूवाँ, धूलोका कणहरू पनि सफा भएको चौलागाईंले बताए ।

यसका साथै तरकारीबाली लगाउने किसानहरूलाई पनि यो वर्षाले राहत पु-याएको छ । व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका पटेर्वासुगौली गाउँपालिका वडा नंं ४ दाप सुगौलीका किसान जगतनारायण पञ्जियारले यो वर्षाले तरकारीबाली सप्रिने बताए । भिन्डी, लौका, बोडी, फर्सी, करैला, परवल, घिरौलालगायतका तरकारीका लागि यो वर्षा अमृत समान भएको पञ्जियारले बताए ।

यो वर्षाले फलफूलका बोट तथा रूखलाई पनि सहयोग पुगेको छ । वर्षा अघि आँप, कटहर, लिचीलगायतका फलफूलका बिरुवाहरू सिंचाइको अभावमा फलहरू सुकेर झर्दै आएका थिए । यो वर्षाले जमीनमा पानीको मात्रा बढेकाले फल रूखमैं टिक्न सहयोग हुने किसानहरूले जनाएका छन् ।

यसका साथै लामो समयदेखि वर्षा नभएकोले ग्रामीण भेगमा रहेका कच्ची तथा ग्राभेल सडकहरू धूलाम्य भएका थिए । जसका कारण यस्ता सडकमा यात्रा गर्ने यात्री र सडकछेउमा घर भएका नागरिकहरू धूलोका कारण समस्या झेल्दै आएका थिए । तर यो वर्षाले यी समस्याबाट छुटकारा पाएको सर्वसाधारणले जनाएका छन् ।

लामो समयदेखि पानी नपरेकोले जमीन सुक्खा तथा कडा भएर जोताइ गर्न निकै गा-हो भएको किसानहरूले बताएका थिए । यो वर्षाले जमीन नरम र खुकुलो हुँदा अर्काे बालीका लागि खेत खन्न तथा आली ताछी सरसफाइ गर्न मदत गरेको किसानहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्