जग्गाको बिषयमा कुटपिट हुँदा एकको मृत्यु

सम्वादाता | २०८१ बैशाख २७ गते ०१: ३० मा प्रकाशित

रौतहट, रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जग्गाको बिषयलाई लिएर भएको विवाद चर्किदै गएपछि भएको हात हालहालमा दुर्गा भगवती २ भलोहियाका ४० वर्षीय जयप्रकाश दासको मृत्यु भएको हो ।

दुर्गा भगवती  २ भलोहिया (हाल पिपरा सिमाना) मा बस्दै आएका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबिच शुक्रवार दिउँसो २  बजे हात हालाहाल हुँदा दास भुइँमा लडेका थिए । लडेर अचेत भएका उनलाई  उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
 
हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको समेत रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस्