काठमाडौं, आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । आज बिहान बागमती र कोशी प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएराति काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको थियो । वर्षाका कारण तुवालो हट्दै गएको र डढेलो पनि कम हुँदै गएको मौसमविद नगरकोटीले बताइन् । गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण पोर्टलमा देशका १८० स्थानमा मात्रै डढेलो लागेको देखिन्छ । केही दिनअघिसम्म एकै दिन पाँच सय स्थानमा डढेलो लागेको देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्