विदेश पठाइदिन्छु भनेर ३ करोड असुली गरेको आरोपमा , २ जना पक्राउ

सम्वादाता | २०८१ बैशाख १८ गते ०४: ५० मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले बताए ।

बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै उनीहरुले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको पाइएको उनले जानकारी दिए ।

 
उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।

बयलकोटीले आफ्नो समेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क अघि बढाएका थिए ।

फार्म सञ्चालन भन्दा पनि कन्सल्टेन्सी खोलेर नाफा बाँडौं भन्दै बमको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको एसएसपी भट्टराईले बताए ।

यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ । विदेश जानेहरुबाट सुरुमा ५० हजार लिएको र अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै रकम माग गरेको पाइएको प्रहरीको भनाइ छ । यो गिरोहबाट ठगीमा पर्नेहरु अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।

कुखुरा फार्म सञ्चालन गरेका बमको नाममा भिसा प्लस प्रालि कन्सल्टेन्सी दर्ता गराई उनकै खाता प्रयोग गरी ठगी गरेको खुलेको छ ।
बमको नाममा रकम आएपछि चेक काट्न लगाई लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने गरेको पाइएको एसएसपी भट्टराईले बताए ।

विदेश जानका लागि उनीहरुले रकम शुल्कहरुको विवरण समेत तोकेका थिए । न्युजिल्याण्डका लागि १६ लाख, बुल्गेरिया र रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख लाग्ने भन्दै उनीहरुले रकम उठाएका थिए ।

उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्