वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

तोडफोडबाट क्याम्पसलाई भएको क्षति एनआई कलेजले दिनुपर्ने रायले बताएका छन् । 

सम्वादाता | २०८१ बैशाख १६ गते १७: ४६ मा प्रकाशित

वीरगन्ज– कक्षा १२ को जारी परिक्षामा पर्यवेक्षकहरुले अमर्यादित व्यवहार गरेको भन्दै परिक्षार्थीहरुले आईतबार वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । परिक्षार्थीले प्रहार गरेको ढुंगामुढाले क्याम्पस परिसरमा रहेको बस र मोटरसाइकलहरुमा क्ष्ँति पुगेको छ । क्याम्पसको झ्यालको सिसा समेत फुटेको छ । तीनजना परिक्षार्थी घाइते भएका छन् । 

आन्दोलनरत परिक्षार्थीका अनुसार अनुगमनको नाममा उत्तर पुस्तिका खोसिदिने, पेन खस्दा पनि उभ्याई दिने लगायतका गतिविधि शिक्षकहरुले परिक्षा सुरु भएको पहिलो दिनदेखि नै गर्दै आएका थिए । ‘आईतबार दोस्रो दिनको परिक्षामा समेत त्यस्तै व्यवहार दोहोरियो,’ एक परिक्षार्थी भन्छन्, ‘सबैको अगाडि नांगो पारेर घुमाउने जस्ता अपशब्द समेत प्रयोग गरिएको छ ।’ 

आइतबारको परिक्षा सकिएपछि परिक्षार्थीहरु भेला भएर क्याम्पस विरुद्ध नाराबाजी गर्दै तोडफोडमा उत्रिएका थिए । नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका परिक्षार्थीले आइतबारको परिक्षा रद्द गर्ने र परिक्षा सेन्टर परिवर्तनको माग राखेका थिए । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले स्थिती तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको बताए ।

कसैको उक्साहटमा आएर वीरगन्जको एनआई कलेजका विद्यार्थीहरुले तोडफोड गरेको हरिखेतान बुहुमुखी क्याम्पस प्रमुख किशोरी रायले जनाए । तोडफोडबाट क्याम्पसलाई भएको क्षति एनआई कलेजले दिनुपर्ने रायले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्