नेसनल मेडिकल कलेजका पूर्व एमडी बसरुद्दिनविरुद्ध किर्ते मुद्दा दर्ता

फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो ।

सम्वादाता | २०८० फागुन १५ गते १६: १७ मा प्रकाशित

वीरगन्ज– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ । फागुन १३ गते अन्सारीविरुद्ध पर्सा जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता भएको हो ।

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ । अदालतका एक अधिकृतका अनुसार अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनविरुद्ध मिसिल नम्बर ०८०–सिपी–०८७१ मुद्दा दर्ता भएको छ ।

यस्तै तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर श्रम कार्यालय वीरगन्जमा ट्रेड युनियन दर्ता गराउन लगाएको मुद्दामा उल्लेख छ । श्रम कार्यालयले ट्रेड युनियन दर्ता किन गर्ने भनी अस्पतालबाट जवाफ माग गरेपछि फागुन ४ मा प्रबन्ध निर्देशकबाट हटिसकेका बसरुद्दिनले अस्पतालको छाप र हस्ताक्षर दुरुपयोग गरेको दाबी गरिएको छ ।

बसरुद्दिनले पदबाट हटाइसकेपछि फागुन १० मा प्रबन्ध निर्देशककै रूपमा श्रम कार्यालय वीरगन्जमा अस्पतालको तर्फबाट हस्ताक्षर गरेर पत्र बुझाएपछि किर्ते मुद्दा दर्ता भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्