पटेर्वासुगौलीमा बालबालिकाको दिवाखाजा रोकेर सरस्वतीपूजा

प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कार्यव्यस्तताको कारण विद्यालयको अनुगमन गर्न नसकिएको र बाहिर आएजस्तै दिवाखाजा बन्द गरिएको पुष्टि भएमा विद्यालयलाई कारबाइ गर्ने बताए ।

सम्वादाता | २०८० फागुन २ गते १०: ४६ मा प्रकाशित

पर्सा – पर्साको पटेर्वासुगौली गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा सरस्वती पूजालाई लिएर ब्रह्मलूट मचाइएको छ । यो पालिका अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई एक सातादेखि दिवाखाजा दिइएको छैन । दिवा खाजाबापतको रकम सरस्वतीपूजामा खर्च गरिने भन्दै एक सातादेखि खाजा खुवाइएको छैन ।

यसैगरी सरस्वतीपूजाको लागि यो पालिकाका सामुदायिक विद्यालयहरूले रु एक सयदेखि २५० सम्म विद्यार्थीहरूबाट चन्दासमेत असुल गरेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुर बैरिया सोनबर्सामा २३७ जना विद्यार्थी भर्ना छन् । त्यहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूसँग सरस्वतीपूजाको लागि १०० देखि २०० सम्म चन्दा माग गरिएको छ ।

कक्षा ५ मा अध्ययनरत विद्यार्थी गुड्डु मियाँले एक सातादेखि खाजा बन्द गरिएको र सोबापतको रकम सरस्वतीपूजामा खर्च गरिने शिक्षकहरूले भनेको बताए । विद्यालयका प्रअ राजेश गिरीले विद्यालय व्यवस्थापन समितिको सल्लाहमा खाजा रोक गरिएको प्रतिक्रिया दिए ।

नेरामावि रामभौरीभाथामा कक्षा ४ मा अध्ययनरत रामबाबू महतोले पनि आप्mनो विद्यालयमा एक सातादेखि दिवाखाजा नखुवाइएको बताए । तर विद्यालयका प्रअ गोपालप्रसाद रौनियारले भने खाजा सञ्चालनमा रहेको बताए । एकजना शिक्षिकाले एक सातादेखि खाजा नखुवाइएको बताएकी छन् । नेरा आधारभूत विद्यालय मनिहर्वामा २४९ जना विद्यार्थी छन् र यो विद्यालयमा ५० देखि १५० सम्म सरस्वतीपूजाको लागि चन्दा उठाइएको छ ।

यो विद्यालयमा गत शुक्रवारदेखि दिवाखाजा बन्द गरिएको छ र सोको रकम सरस्वतीपूजामा खर्च गरिने बताइएको छ । कक्षा ५ मा अध्ययनरत विद्यार्थी राजकरणसाह कानूले शुक्रवारदेखि खाजा नदिएको बताए । प्रअ हरिराज यादवले विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको सल्लाहमा खाजाबापतको रकम सरस्वतीपूजामा खर्च गर्ने सहमति भएको बताए ।

गादी आधारभूत विद्यालय पश्चिम देकुलीमा पनि चन्दा सङ्कलन गर्नुको साथै एक सातादेखि दिवाखाजा नदिएको विद्यार्थी दिनेश माझीले बताए । यो पालिकाको अधिकांश सामुदायिक विद्यालयहरूमा अहिले सरस्वतीपूजालाई भनेर एक सातादेखि खाजा खुवाइएको छैन भने विद्यार्थीहरूसँग चन्दा सङ्कलन भइरहेको छ ।

गापा शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जियारले यसबारे आफू अनभिज्ञ रहेको बताए । उनले यसबारे अनुगमन गरिने र दोषी विद्यालयलाई कारबाई गर्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले कार्यव्यस्तताको कारण विद्यालयको अनुगमन गर्न नसकिएको र बाहिर आएजस्तै दिवाखाजा बन्द गरिएको पुष्टि भएमा विद्यालयलाई कारबाइ गर्ने बताएएको खबर बुधबारको प्रतीक दैनिकमा समाचार प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्