स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत

पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशीको उक्त पुरस्कारसहित कदरपत्र पासवानलाई प्रदान गरे ।

सम्वादाता | २०८० माघ १ गते १२: ३९ मा प्रकाशित

वीरगन्ज – स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवान पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशीको उक्त पुरस्कारसहित कदरपत्र पासवानलाई प्रदान गरे ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी ,पुर्व अध्यक्ष अशोक तिवारी ,स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक कोमलविक्रम शनह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतले पुरस्कृत पासवानलाई दोशल्ला ओेढाएर सम्मानित गरे ।

पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य निलिमा पौडेल, जिल्ला अध्यक्ष विजय चौहान, प्रेस चौतारीका जिल्ला अध्यक्ष तुलसी भण्डारी ,समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनोज पटेल, बानका मधेस प्रदेश अध्यक्ष आशीक अन्सारी, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष तिवारी यादव, नेकपा एकिकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनोज चौधरी लगायतकोपनि उपस्थिति थियो । 

स्व.गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए । यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र महेश दास पुरस्कृत भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्