विवादास्पद पप्पु कन्स्ट्रक्सनका हरिनारायणलाई भित्र्याउँदै एमाले

पर्सा ३ बाट निर्वाचित भएर कार्यकालभर निलम्बित भएका रौनियार राजनीतिमा सक्रिय हुनकै लागि कागजी रूपमा पप्पु कन्स्ट्रक्सनबाट अलग भएका छन् ।

सम्वादाता | २०८० मंसिर ५ गते ०८: २८ मा प्रकाशित

वीरगन्ज – देशभर दर्जनौँ निर्माण ठेक्का अलपत्र पारेर बदनाम पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेश गर्दै छन् । मंगलबार पर्सा पुगेर एमाले अध्यक्ष केपी ओलीले रौनियार र उनका समर्थकलाई पार्टीमा भित्र्याउन लागेका हुन् ।

पछिल्लो समय एकपछि अर्को विवादास्पद पृष्ठभूमिका व्यवसायी एमालेमा प्रवेश गरिरहेका छन् । नेकपा विभाजनमा एमालेमै रहेका माओवादी पृष्ठभूमिका दुर्गा प्रसाईं अहिले स्वयम् एमालेका लागि टाउको दुखाइ भइरहेका बेला अर्का बदनाम कम्पनीका सञ्चालक रौनियार भित्र्याउन लागेको हो ।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई एमाले अध्यक्ष ओलीले पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनी झापा ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, एमालेले राप्रपासँग तालमेल गरी सो क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघायो ।

गत वर्ष प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनदेखि असन्तुष्ट रहेका प्रसाईं बिस्तारै पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारससँग नजिकिए । झापामा शाहलाई प्रमुख अतिथि बनाएर मेची महाकाली अभियान घोषणा गरे ।

राजतन्त्र पुनर्स्थापनाको मुद्दा बोकेपछि एमालेले उनलाई कारबाहीको तयारी गर्यो । अन्ततः उनी एमाले परित्याग गरी राजतन्त्रको वकालत गरिरहेका छन् । ७ मंसिरमा उनले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

एमालेनिकट युवा संघले उनको प्रदर्शनलाई काउन्टर दिने गरी सोही दिन प्रदर्शन गर्दै छ । त्यसले एमाले र प्रसाईंबीच टकरावको स्थिति उत्पन्न भएको छ । दुवैले माइतीघर मण्डलामा प्रदर्शन गर्न चाहेका छन् । स्थानीय प्रशासनले भिन्न भिन्न स्थानमा कार्यक्रम राख्न भनेको छ ।

सार्वजनिक अभिव्यक्तिमा अध्यक्ष ओली र नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिएर प्रसाईं आमने(सामने उभिएका बेला एमालेले अर्का विवादास्पद व्यवसायीलाई पार्टीमा भित्र्याउन लागेको हो । रौनियार जनता समाजवादी पार्टी ९जसपा० मा थिए । २०७४ को निर्वाचनमा सांसदसमेत निर्वाचित भए ।

तर, विवादास्पद पप्पु कन्स्ट्रक्सनका सञ्चालक भएकाले ठेक्कामा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरायो । जसका कारण उनी निलम्बित हुन पुगे । पर्सा ३ बाट निर्वाचित भएर कार्यकालभर निलम्बित भएका रौनियार राजनीतिमा सक्रिय हुनकै लागि कागजी रूपमा पप्पु कन्स्ट्रक्सनबाट अलग भएका छन् । एमालेबाट पर्सा ३ मा आउँदो निर्वाचनमा चुनाव लड्ने गरी उनी पार्टी प्रवेश गर्न लागेको एमालेस्रोतले बतायो ।

मंगलबार पर्साको पोखरिया नगरपालिकामा सभा गर्दै आफू एमालेमा प्रवेश गर्न लागेको रौनियारले बताएका छन् । त्यसक्रममा आफूसँगै समर्थक तथा शुभचिन्तक, स्थानीय नेता(कार्यकर्ता एमालेमा प्रवेश गर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘देश र जनताको समृद्धिको सापेक्ष दृष्टिकोण एमाले र अध्यक्ष केपी ओलीमा मात्र देखियो । उहाँको नेतृत्वले मात्र हामीले चाहेको विकास र समृद्धि सम्भव देखेँ ।’ साभार : शिलापत्र

 

प्रतिक्रिया दिनुहोस्