परीक्षा लिएको ७ महिनापछि रद्द गरिएको सूचना आएपछि पौडेलको सर्वत्र आलोचना

कानुनी रुपले प्रतिस्पर्धा गरि रोजगार पाउने आशामा रहेको महानगरका सयौ युवाहरुमा निराशा उब्जिएको छ ।

सम्वादाता | २०८० असोज १३ गते ११: ४३ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले शुक्रबार १२ गते जारी गरेको एउटा सूचना अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । सेटिङ नमिलेको र हाकिमको अकर्मण्यताका आरोप लागेको छ ।

गत माघ २५ मा महानगरपालिकाले सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरि ३३ जना कम्प्युटर अपरेटरको माग गरेको थियो ।

लिखित, प्रयोगात्मक र अन्तर्वार्ता माध्यमबाट चयन गरिने कम्प्युटर अपरेटरका लागि मान्यता प्राप्त शौक्षिक संस्थाबाट कम्प्युटर विषय लिई एस.एल.सी/एसईई उत्तीर्ण भई मान्यता प्राप्त संस्थाबाट ३ महिने कम्प्युटर सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्ने शैक्षिक योग्यता कायम गरिएको थियो ।

 

महानगरले तोकेको मापदण्डमा पर्ने करिब ५ सय जना लिखित परिक्षामा सहभागी भएका थिए । लिखित परिक्षाको नतिजा आएपछि प्रयोगात्मक र अन्तर्वार्ता लिइने भनिएको थियो । तर, लिखित परिक्षा दिएको ७ महिना पछि महानगरपालिकाका प्रशासकीय अधिकृतले एक महिना पुरानो मितिमा सेवा करारमा पदपूर्ति गर्ने विज्ञापन मध्येबाट कम्प्युटर अपरेटरको विज्ञापन रद्द गरिएको सूचना जारी गरेका छन् ।

मापदण्ड विपरित डोर हाजरी र दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गर्न माहिर मानिने पौडेलले लिखित परिक्षा लिएर त्यसलाई ७ महिना पछि खारेज गरेका छन् । उनको उक्त निर्णय सर्वसाधारण देखि जनप्रतिनिधीले समेत आलोचना गरेका छन् । कानुनी रुपले प्रतिस्पर्धा गरि रोजगार पाउने आशामा रहेको महानगरका सयौ युवाहरुमा निराशा उब्जिएको छ । के कारणले लिखित परीक्षा रद्द गरियो भन्ने विषयमा पौडेलसंग प्रतिक्रिया लिन खोज्दा उनले जवाफ दिन उचित ठानेन् ।

प्रतिक्रिया दिनुहोस्