वीरगन्ज–रक्सौल मितेरी पुलमै एसएसबीको चेकपोस्ट

‘मितेरी पुलमा सुरक्षाकर्मी चेकजाच गर्न मिल्दैन् भन्ने कुरा कुनै पनि कानुनमा उल्लेख भएको छैन्,’ डिएसपी सिंहले भने, ‘मित्रताको भावले मितेरी पुलमा बस्ने कि नबस्ने भन्ने मात्र हो ।’ 

सम्वादाता | २०८० असोज ३ गते २०: २२ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज स्थित नेपाल र भारतको सिमानामा रहेको मितेरी पुलमा बुधवारदेखि भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले अस्थाई रुपले चेकजाच थालेको छ । यसअघि एसएसबीको टोलीले भारतीय भन्सार कटेपछि रक्सौल बजारमा चेकजाच गर्ने गरेका थिए ।

केन्द्रबाट नै भन्सार अगाडि चेकजाच गर्ने आदेश आएको एसएसबीले जनाएको छ । मितेरी पुलमा तैनाथ एसएसबीका एसआई राम प्रसादले केन्द्रको निर्देशनमा ईन्डीयन कस्टम अगाडि अस्थाई चेकपोस्ट बनाइएको बताए ।  ‘चेकपोस्ट अस्थाई हो कि स्थाई कुनै निर्देशन आएको छैन्,’ उनले भने, ‘हालको लागि चेकजाच गर्न मात्र निर्देशन आएको छ ।’

उनका अनुसार भारत भित्रिने सबैजनाको चेकजाच नगरि शंकास्पद व्यक्तिको मात्र चेकजाच गरिएको छ । गैरकानुन गतिविधी गर्नेमाथि निगरानी बढाउने उद्देश्यले ईन्डियन कस्टम अगाडि नै चेकपोस्ट राखिएको उनले बताए । खुल्ला सिमानाका कारण पछिल्लो समय तेस्रो मुलुकका नागरिक नेपाल हुदै भारत प्रवेश गर्न थालेपछि निगरानी बढाएको एसएसबीले जनाएको छ । 

पहिलो पटक मितेरी पुलमै एसएसबीले चेकजाच गर्न थालेपछि नेपाली सुरक्षाकर्मीले स्थलगत अनुगमन गरेका थिए । वीरगन्ज नाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्ष्ँक देवेन्द्र बहादुर सिंहले एसएसबीले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत पहिले भन्दा निगरानी बढाएको बताए ।

उनका अनुसार मितेरी पुल दुबै देशको भूमि र दुबै तर्फको दसगजामा अवस्थित रहेको छ । एसएसबीको टोली भारततर्फको दसगजा भन्दा २\३ मिटर छाडेर भारततिरै चेकजाच गरेको सशस्त्रका डिएसपी सिंहले जनाए । ‘मितेरी पुलमा सुरक्षाकर्मी चेकजाच गर्न मिल्दैन् भन्ने कुरा कुनै पनि कानुनमा उल्लेख भएको छैन्,’ डिएसपी सिंहले भने, ‘मित्रताको भावले मितेरी पुलमा बस्ने कि नबस्ने भन्ने मात्र हो ।’ 

प्रतिक्रिया दिनुहोस्