भक्तपुरबाट आएका बालकैदीले नाईके कुट्दा वीरगन्जको सुधार गृहमा रातभरि तनाव

विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्यो ।

सम्वादाता | २०८० भदौ २७ गते ०८: १७ मा प्रकाशित

वीरगन्ज– वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् । केही दिन अगाडि मात्र भक्तपुरबाट पठाइएका बालकैदीले यहाको नाइकेलाई कुटपिट गरेपछि विवाद सुरु भएको थियो । 

मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्यो ।

करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएनन् । ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए ।

 

प्रहरी भित्र पसेपछि कैदीबन्दीहरुले पत्रकारलाई बोलाउन आग्रह गरेका थिए । त्यसपछि पुगेका पत्रकारहरुसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरेका छन् ।

पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । अस्ति भक्तपुरमा विवाद गर्दा १८ कैदीबन्दीलाई यहाँ पठाइयो । उनीहरूले नै विवाद गरेका हुन् ।

विवाद के हो भन्ने जिज्ञासामा उनले भने, ‘उनीहरुबीच आन्तरिक विवाद छ । म पनि राम्रोसँग बुझ्न पाएको छैन् ।’ घटनामा एकजना बाल कैदी घाइते भएको र उनको अवस्था सामान्य रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्