सर्लाहीको मंलगवामा २ समुदायबीच तनाव, निषेधाज्ञा जारी

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो ।

सम्वादाता | २०८० भदौ २३ गते १६: २३ मा प्रकाशित

सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञाको तयारी गरेको छ । निषेधाज्ञा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म रहने छ ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरवितर पारेको थियो ।

अबेर राति अवस्था सामान्य बनेपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।

तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको तयारी गरिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ । प्रहरी उपरीक्षक सुवेदीले भने, राति झडप हुन सक्छ । त्यसैले हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाउन लागेका हौं ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदी आफैं पनि सुरक्षामा तैनाथ रहेको जानकारी दिए । कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ । प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्