धरान निषेधाज्ञा - बाक्लो सुरक्षाकर्मी परिचालन, सार्वजनिक यातायत ठप्प

निषेधाज्ञालाई धरानवासीले पालना गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए ।

सम्वादाता | २०८० भदौ ९ गते १३: २७ मा प्रकाशित

धरान– स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित दुर्घटना टार्न निषेधाज्ञा जारी गरेपछि धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन् ।
धरानमा बजार भने खुला रहेको र स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध नभएको बताइएको छ ।
निषेधाज्ञालाई धरानवासीले पालना गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको स्थानीयवासीले बताए ।
व्यवसायीहरूका अनुसार इटहरी हुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ ।
विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्याली आयोजना गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि शनिवार राति १२ बजेसम्म धरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
धरानमा केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि चलेको बहस र त्यससँगै उत्पन्न विवादपछि सम्भावित दुर्घटना टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्