साहुबाट कुटिएकी एकल महिला नै प्रहरीको खोरमा

छिपहरमाई गाउंपालिका अध्यक्ष मनोज गुप्ताले इन्सपेक्टर केसीको अगाडि छलफल गराई महिला र उनको छोरालाई आइतबार सांझ थुनामुक्त गरेका थिए । प्रहरीले पीडकको मिलेमतोमा एकल महिलालाई प्रताडित गरेको गाउंपालिका अध्यक्ष गुप्ताले बताए ।

सम्वादाता | २०८० भदौ ४ गते १०: ५९ मा प्रकाशित

पर्सा – पर्साको छिपहरमाई गाउंपालिका वडा नम्बर २ टिउकीमा साहुबाट कुटिएकी एकल महिला र उनका छोरालाई नै प्रहरीले थुनेको घटना बाहिरिएको छ । एकल महिला तारा देवीले स्थानीय भोला साह कानूसँग रु १२ लाख ऋण लिएको र कानूले छ कट्ठा जमीन लेखाउन दबाब दिंदा सोको विरोध गर्ने आमाछोरालाई साहु कानू र निजका मानिसहरूले आइतबार बिहान १० बजे निर्घात कुटपिट गरेको बुझिन आएको छ ।

कानु र उनको मानिसहरुले आमा छोरालाई कुट्दै इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए । छिपहरमाई गापा–३ बस्ने रामेश्वर भन्ने भोला साह कानू र प्रदीप साह कानूको टोलीले आफू र छोरामाथि कुटपिट गरेको तारा देवीले बताइन् ।

उनले साहुसँग रु १२ लाख लिएको र सोबापत छ कट्ठा जमीन आफ्नो नाममा लेख्न दबाब दिएपछि यसको विरोधमा शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गरेको तर प्रहरी प्रशासनले आप्mनो सुरक्षामा चासो नदेखाएको उनले आरोप लगाइन् ।

 

उनले ऋण लिएबापत जग्गा नाममा गरिदिन निरन्तर दबाब आएपछि प्रहरी प्रशासनमा गुहार गरेको तर त्यहाँबाट पनि न्याय निसाफ नपाएको र साहुले आफू सहित छोरालाई बारम्बार प्रताडित गर्दै आएको आरोप लगाइन् । ‘१२ लाख ऋणको बदलामा साहूले पूरै ६ कठ्ठा घडेरी नै नामसारी गर्न दबाब दिइरहेका छन्,’ तारा देवी भन्छिन्, ‘मैले २ कठ्ठा दिन्छु भन्दा, सबै मेरो नाममा लेख तलाई ४ कठ्ठा खेतको जमिन दिन्छु भन्दै निरन्तर कुटपिट गरेका छन् ।’

 

घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाले कुटपिट गर्ने पक्षलाई केही गरेको छैन तर कुटाइ खाएका आमा–छोरालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले कुटपिटबारे आफूले बुझिरहेको बताए । उनले महिलाले रु १२ लाख लिएको निवेदन परेको र उनीमाथि अर्को मुद्दा पनि रहेकोले नियन्त्रणमा लिएको बताए ।

छिपहरमाई गाउंपालिका अध्यक्ष मनोज गुप्ताले इन्सपेक्टर केसीको अगाडि छलफल गराई महिला र उनको छोरालाई आइतबार सांझ थुनामुक्त गरेका थिए । प्रहरीले पीडकको मिलेमतोमा एकल महिलालाई प्रताडित गरेको गाउंपालिका अध्यक्ष गुप्ताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्