सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार झा पुरस्कृत 

अख्तियारले खाली पत्र पठाउने गरेपनि आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ । 

सम्वादाता | २०८० भदौ १ गते १५: ४० मा प्रकाशित

वीरगन्ज– प्रतिक प्रकाशन समूहले हरेक वर्ष प्रदान गर्ने सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार चन्द्रकिशोर झा पुरस्कृत भएका छन् । फोटो पत्रकार दिवगंत सुवोध सिंहको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका स्तम्भकार एवम् खोज पत्रकारिता केन्द्रका अध्यक्ष झा यस वर्ष पुरस्कृत भएका हुन् । 

वीरगञ्जबाट प्रकाशित राष्ट्रिय ‘क’ वर्गको प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा झालाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र प्रतिक प्रकाशन दैनिकका प्रधान सम्पादक जगदीश शर्माले सयुँक्त रुपमा दोसल्ला ओढाएर ५१ हजार राशीको चेक हस्तान्तरण गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले २/४ वर्षपछि पुरस्कारको राशीलाई १ लाख बनाउने आयोजकको लक्ष्य अर्को वर्षदेखि नै पूरा गर्ने गरी महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले वीरगञ्जको पत्रकारितालाई सुधार र विकास गर्दै यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धि एवम् पत्रकारिताको स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । 

साथै उनले आफुले महानगरको नेतृत्व गरेदेखि कुनै पनि किसिमका अनियमितता नगरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई आएर छानविन गर्न चुनौती पनि दिएका छन् । अख्तियारले खाली पत्र पठाउने गरेपनि आएर छानविन गरेर कागजात नियन्त्रणमा लिने हिम्मत गर्न नसकेको महानगर प्रमुख सिंहको भनाई छ । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको उपस्थिती रहेको थियो ।  

सुरुमा फोटो पत्रकारलाई मात्रै प्रदान गरिँदै आएको पुरस्कार गत वर्षदेखि अन्य विधाका पत्रकारलाई पनि प्रदान गरिदै आएको प्रतिक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए । 

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो । सोही अवसरमा प्रतिक दैनिकले जितलाल राम, मुकेश बस्नेत र धर्मेन्द्र ठाकुरलाई पनि नगद र सम्मान पत्रमार्फत सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्