नारायणी अस्पतालका लेखापालले राति बियर सेवन गरि नर्सहरुलाई दुव्र्यवहार गरेको आरोप, छानबिन समिति गठन

घटनाका आरोपीमध्येका लेखापाल अकलेश सहनीले बियर सेवन गरेको र एकजना साथीकी पत्नी प्रसूति वार्डमा भर्ना भएकाले आफू सो स्थानमा गएको बताएका छन् । उनले आफू र साथीहरू बियर सेवन गरेर जानु नै गलत भएको स्वीकार गरे ।

सम्वादाता | २०८० सावन २४ गते १६: १७ मा प्रकाशित

वीरगन्ज– नारायणी अस्पतालमा कार्यरत प्रशासनिकतर्फका कर्मचारीद्वारा प्राविधिकतर्फका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गरिएको घटना बाहिरिएको छ ।नारायणी अस्पतालका लेखा शाखा, प्रशासन र सामाजिक एकाइमा कार्यरत कर्मचारीहरूले प्रसूति (गाइनो) वार्डका महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गरेको घटना चार दिनपछि बाहिरिएको छ ।

घटना विवरण अनुसार साउन १७ गते राति ११ बजे लेखापाल अकलेश सहनी, सहलेखापाल डम्बरनारायण साह, फर्मासिस्ट रजत साह, सामाजिक एकाइका सहजकर्ता रामप्रवेश यादव, सुजित दास, इलेक्ट्रिसियन सञ्जीव गुप्ता र कार्यालय सहायकद्वय सुवास गुप्ता र सुवास साह मदिरासेवन गरेर गाइनो वार्डमा प्रवेश गर्छन् ।

त्यहाँ उनीहरूले लेबर रूममा कार्यरत महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहारको प्रयास गर्छन् भने केहीले महिला स्वास्थ्यकर्मीहरूको झोलाबाट फास्टफूड निकालेर खान्छन् । लेबर रूममा सम्बन्धित पुरुष चिकित्सकबाहेक अन्य पुरुषलाई प्रवेश निषेध छ । त्यहाँ महिला स्वास्थ्यकर्मी र सहायक पनि महिलाहरू मात्र राखिएका छन् ।

अस्पतालको अति संवेदनशील वार्डमा अस्पतालकै कर्मचारीहरू दादागिरी शैलीमा प्रवेश गर्ने, महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहारको प्रयास गर्ने जस्ता कार्यहरू भएपछि घटनाविरुद्धमा प्रसूति प्रमुख हेमा थापाले अस्पताल प्रशासनमा भोलिपल्टै लिखित र किटानी उजूरी दिएकी थिइन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले उजूरीको आधारमा तत्कालीन सिसिटिभी फुटेज हेरेर साउन १९ गते शुक्रवार तीन दिने स्पष्टीकरण सोधेका र डा सुरेन्द्र चौधरीको संयोजकत्वमा रीति साह र सुनील रौनियार रहेको तीन सदस्यीय छानबीन समिति गठन गरेको बताए । उनले स्पष्टीकरण सोधिएको र छानबीन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

घटनाका आरोपीमध्येका लेखापाल अकलेश सहनीले बियर सेवन गरेको र एकजना साथीकी पत्नी प्रसूति वार्डमा भर्ना भएकाले आफू सो स्थानमा गएको बताएका छन् । उनले आफू र साथीहरू बियर सेवन गरेर जानु नै गलत भएको स्वीकार गरे । उनले आफूहरूबाट घटना नियोजितरूपमा नगरिएको तर अब भने षड्यन्त्र भइरहेको आरोप लगाए ।

तर प्रसूति वार्डका महिला स्वास्थ्यकर्मीहरूले यसभन्दा पहिले पनि यस प्रकारका घटनाहरू हुँदै आएका आरोप लगाउँछन् । उनीहरूले लेखापाल सहनी आएदेखि कसै न कसैको क्वार्टरमा भोजभतेर गर्ने र वार्डमा आएर महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गर्ने गरेका आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्