युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवार र स्मृती कोषमा महानगरको सहयोग

सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सम्वादाता | २०८० सावन ५ गते १७: ३० मा प्रकाशित

वीरगन्ज– युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

सोका निमित्त आज सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल जसपा का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख ९मेयर० राजेशमान सिंहले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर श्रेया र सर्राफकी श्रीमती पूजाकुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो । चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउँदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिए । त्यस्तै वीरगञ्जका मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताए ।

सोही प्रयास स्वरूप आज पाँच लाख रुपैयाँ उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उनले पनि प्रतिबद्धता व्यक्त गरे । यसैबिच नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले सर्राफको स्मृतिमा स्थापना गरेको स्वर्गीय नरेश सर्राफ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारको सञ्चय कोषका लागि पनि मेयर सिंहले १० लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

उनले आजै एक कार्यक्रमका बिच रकम बराबरको चेक पनि महासङ्घका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष सञ्जीव मिश्रलाई हस्तान्तरण गरेका छन् । पत्रकार सर्राफको गत वर्ष मङ्सिर १५ गते हृदयाघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्