वीरगन्ज यातायातका पूर्व कर्मचारी रंजित साहलाई कालोमोसो

१२ दिन अगाडि नै वीरगन्ज यातायातबाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगन्जमै बसिरहेका छन् ।

सम्वादाता | २०८० सावन २ गते २०: ५० मा प्रकाशित

वीरगन्ज– यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र वीरगन्जका पूर्व कर्मचारी सहायक शाखा अधिकृत रंजित साहलाई मंगलबार कालोमोसो दलिएको छ । दिउंसो ४ बजेको समयमा मुर्ली स्थित एनआईसी एसिया बैंक अगाडि साहमाथि अज्ञात समूहले मोबिल फालेका थिए । मुखमा कालोमोसो दलेका थिए ।

१२ दिन अगाडि नै वीरगन्ज यातायातबाट यातायात व्यवस्था कार्यालय गौर सरुवा भएपनि साह वीरगन्जमै बसिरहेका छन् । वीरगन्ज कार्यालयले उनको रमाना समेत गौर पठाइसकेको छ । तर, साह भने दिनहुं वीरगन्ज यातायात कार्यालयमा गएर जबरजस्ती हाजिरी गर्न खोज्छन् । हाजिरी गर्न नपाउंदा कर्मचारीलाई विभिन्न डर धम्की दिन्छन् । सम्प्रदायिक कुरा पनि गर्छन् । ३ महिना काज सरुवा गराई वीरगन्ज आएका साह विगत १५ महिनादेखि यही छन् । 

उनको यस्तो हर्कतमा मेकानिकल इन्जिनियर अमित कुमार दासको पनि साथ र सहयोग रह्दै आएको छ । दासको समेत १२ दिन अगाडि नै सरुवा भएपनि उनी पनि वीरगन्ज मै छन् । दास र साहको समूहले गर्दा यातायात कार्यालयको वातावरण नै बिग्रिएको छ । केही दिन अगाडि दास र साहकै समूहले शाखा अधिकृत बबिता जैसवाललाई कार्यालयमै गाली गलौज गरेका थिए ।

जैसवाललाई प्रहरीमा उजुरी दिएकी थिइन् । अगामी दिनमा गाली गलौज नदिने भन्दै माफी मागेपछि उजुरी फिर्ता लिएको जैसवालले बताइन् । जिल्ला प्रहरी कार्यालय पर्साले शाखा अधिकृत रंजित साह माथि कालोमोसो दल्नेलाई खोजी गरिरहेको जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्