वीरगन्जको शिक्षा र कृषिमा लगानी गर्न टर्की इच्छुक

महानगरप्रमुखकै सभाकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगञ्जमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

सम्वादाता | २०८० असार २० गते १०: ०० मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा महानगर प्रमुख सिंहले आफूहरु वीरगञ्जको शैक्षिक स्तर वृद्धि गर्न लागि परेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उहाँले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताउनुभयो । शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै महानगर प्रमुख सिंहले त्यसका लागि आवश्यक सहयोगको खाँचो रहेको बताउनुभयो ।

महानगरप्रमुखकै सभाकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगञ्जमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

यस अघि एजेन्सीले वीरगञ्ज १४ बहुअरिमा पुनःनिर्माण गरेको सुफा आइडियल एकेडेमीको महानगरप्रमुख सिंहले उद्घाटन गर्नु भएको थियो ।
टर्की सहयोग समन्वय एजेन्सीले उक्त एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख सिंहसँग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए । महानगरप्रमुख सिंहले टर्कीबाट आएको टोलीलाई आफ्नो कार्यकक्षमा स्वागत गर्नुका साथै मायाँको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्