पैसा लिएर पनि पास नगराएपछि वीरगन्ज यातायातमा भयो बवाल

कर्मचारी कार्यालय छाडेर भागे 

सम्वादाता | २०८० असार १५ गते १५: १९ मा प्रकाशित

वीरगन्ज– यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र वीरगन्जमा शुक्रबार बवाल भएको छ । पैसा दिएर पनि पास नभएकाहरु सेवाग्राहीले कर्मचारीलाई गालीगलोज गर्दै बोत्तलले हिर्काएपछि कर्मचारीहरु कार्यालय छाडेर भागेका थिए । गत असार ६ र ७ गते भएको लाइसेन्सको ट्रायल मा फेल भएकाहरुसंग पैसा असुलेर जसरी पनि पास गराइदिने आश्वासन दिएका थिए ।

असार १४ गते ट्रायल को नतिजा कार्यालयको वेभसाइटमा अपलोड गरिएको थियो । शुक्रबार असार १५ गते फेल भएकाहरु आफ्नो रिजल्ट बुझ्न कार्यालय पुग्दा सबै फेल मात्र भएको जानकारी पाए । मोटरसाइकलको लाइसेन्सको लागि १५ हजार र कार\जीपका लागि २० हजार रुपैयां दिएका सेवाग्राही आफू फेल भएको थाहा पाएपछि कार्यालयको दोस्रो तल्लामा पुगि कर्मचारीहरुलाई तथानाम गालीगलोज गर्दै पैसा फिर्ता मागेका थिए ।

 

सम्वद्ध स्रोतका अनुसार यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले बिचौलियाहरु मार्फत पैसा र नम्बर संकलन गरेका थिए । शुक्रबार कार्यालयमा सबैभन्दा बढी गालीगलोज रन्जीत साहले नै भेटेका थिए । तनावको स्थिती सृजना भएपछि साढे ११ बजेनै कर्मचारी बाहिरिएका थिए । 

पैसा लिएर पनि किन भएन् काम ?

कर्मचारीहरुबीच कमिशनको भागबण्डा नमिल्दा गत फागुन देखि वीरगन्ज यातायातमा पैसा लिएर पास गराउने काम भएको थिएन् । तालुकवाला मन्त्रलाय, विभाग र मन्त्रीलाई नजराना बुझाएर वीरगन्ज यातायातका कर्मचारी लामो समयदेखि पैसा लिएर पास गराउन नपाउंदा आर्थिक संकटबाट समेत गुज्रिरहेका थिए ।

पैसा लिएर पास गराउने उद्देश्यले नै असार ५ गतेको लिखित परीक्षाका लागि बिचौलिया मार्फत कर्मचारीले सेवाग्राहीको नम्बर र पैसा लिन भित्री रुपले जानकारी गराइसकेका थिए । गत फागुन यता ६० देखि ८० प्रतिशत परिक्षार्थी लिखित परिक्षामा फेल हुंदै आएका थिए । तर, असार ५ गते भएको लिखित परीक्षामा झन्डै ८० प्रतिशत परिक्षार्थी पास भएका थिए ।

 

लिखित पास भएकाहरुले ६ र ७ गते ट्रायल दिएका थिए । ट्रायलमा लिखितबाट पास भएका ८० प्रतिशतसंगै थप केटेगोरीका ३ सय १० परीक्षार्थी पनि सहभागी थिए । ट्रायल सम्पन्न भएपछि कति प्रतिशत रिजल्ट निकाल्ने भनि सल्लाह गर्दा गर्दै एक साता बितेको थियो ।असार १४ गते बिहीबार रिजल्ट फाइनल गर्ने क्रममा ट्रायल प्रमुख बबिता जैसवाल, इन्जिनियर अमित दास, ट्राफिक प्रतिनिधी, करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहबीच वादविवाद भएको थियो ।

स्रोतका अनुसार ट्रायलसंग सम्बन्धी कर्मचारी मात्र बस्ने र बांकीलाई बाहिर निस्कन आग्रह गरेपछि काजमा वीरगन्ज आएका केविन र कमलेशले ट्रायल प्रमुख बबिता जैसवाललाई गालीगलोज गरेका थिए । रिजल्टमा आफ्ना मान्छे बढी पास होस् भन्ने उद्देश्यले केविन र कमलेश भित्र बस्न खोजिरहेका थिए । यी दुबै रन्जित साह निकट मानिन्छन् ।

 

‘आफू माथि अभद्र व्यवहार भएपछि ट्रायल प्रमुख जैसवालले फेयर रिजल्ट निकाल्ने अडान लिइन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक अधिकृत भन्छन्, ‘शुक्रबार रिजल्ट चेक गर्दा त्यही देखियो ।’ इन्जिनियर दास, करारका कर्मचारी यादव, सहनी र साहका कारण पछिल्लो समय यातायातमा काम गर्ने वातावरण नरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्