वरिष्ठ सई सागर राणा बेस्ट पुलिस अफ दि ईयर घोषित

कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले शुक्रबार उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको वाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले जनाएका छन् । 

सम्वादाता | २०८० असार ८ गते १७: ४० मा प्रकाशित

कलैया– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) सागर सम्शेर ज.ब.रा २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित भएका छन् । आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले निर्वाह गर्नुका साथै कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई पूर्ण अनुशासनका साथ पालना गरेकाले शुक्रबार उत्कृष्ट प्रहरीको पुरस्कार दिइएको वाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगेटीले जनाएका छन् । 

सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पन्न गरी दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले वरिष्ठ सई राणाको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव परी कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने विश्वास लिइएको एसपी बोगेटीले जनाएका छन् । 

एक वर्षको अवधिमा वरिष्ठ सई राणाले २०७९ भदौ १२ मा वाराको करैयामाई गाउपालिका बस्ने अपहरणमा परेकी १० वर्षीय सुरतिया पासवानलाई भारतबाट उद्धार गरी ल्याएका थिए । गत मंसिर १४ मा कोल्हबी नगरपालिका– ११ बस्ने ४३ वर्षीय परीक्षण चौधरीको हत्या भएको थियो । सई राणाले चौधरीलाई कर्तव्य गरी मारेका प्रतिवादीलाई पक्राउ गरेका थिए ।

 

गत असोज २१ मा वाराको सिम्रौनगढ स्थित सडकखण्डमा भारत विहारको मोतीहारी बस्ने रोहिचन मुखिया र सितामढीका जुमराती मियांलाई ९ लाख नेपाली नक्कली नोट सहित पक्राउ गरेका थिए ।  यसैगरि गत पुस ८ मा बारागढी नगरपालिका– २ स्थित भारतीय नागरिक शिवपुजन यादवलाई गोली प्रहार गरी हत्या गर्ने भारतीय नागरिक प्रमोद रामलाई सई राणाले पक्रा गरेका थिए ।

फागुन २० मा कलौया उपमहानगरपालिका– २५ सिसहनीय निवासी असफाक अख्तर अन्सारीकी छोरी अपहरणमा परेकी थिइन् । सई सागर राणाले भारतको दिल्लीबाट अन्सारीकी छोरीलाई अपहरणमुक्त पारेका थिए । अपहरण गर्ने रोमियोलाई पक्राउ समेत गरेका थिए । मंसिर २७ मा वाराको विश्रामपुर गाउपालिका– ५ इटियाही टोलमा रहेको दरबार कोलनी क्षेत्रमा सुरज भन्ने महेश साहको हत्या भएको थियो । साहको हत्या गरेका रामु भन्ने कैलाश महतो र रोशनी भन्ने हिरा देवी समेतलाई पक्राउ गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय वाराका अनुसार सई राणाले यसको अलावा विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई समेत पक्राउ गरेका छन् । यसको साथै भन्सार चोरी निकासी पैठारी गरी ल्याएका करोडौं मूल्य बराबरका अवैध लत्ता कपडा लगायतका अन्य सामग्री बरामद गरि दाखिला गरेका छन् । वरिष्ठ सई सागर राणाले आफूलाई दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले २०७९ सालको उत्कृष्ट प्रहरी घोषित गरिएको एसपी होबिन्द्र बोगटीले बताए । 

प्रतिक्रिया दिनुहोस्