वीरगन्ज महानगरको निर्णय कागजमै सिमित

हटेन् नाला माथिको अतिक्रमण

सम्वादाता | २०७९ फागुन २१ गते १६: ३९ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिकाको भौतिक पूर्वाधार अतिक्रमण खाली गर्ने समितिले गत फागुन १ गते नगर क्षेत्रमा रहेका सडक, फुटपाथ र नाला अतिक्रमण गरी बनाइएका सिढी, रैम्प, छेकबार लगायतका भौतिक संरचना हटाउन निर्णय गरेको थियो ।

समितिको निर्णय बमोजिम महानगरपालिकाले एक साता भित्र नाला अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन महानगरवासीलाई अपिल गरेको थियो ।

सो म्यादभित्र उक्त संरचनाहरु नहटाइएमा यस कार्यालयबाट खाली गराउदा लाग्ने दस्तुर\खर्च समेत सम्बन्धित व्यक्ति, संघ\संस्था र फर्मबाट नै असूल उपर हुने बेहोरा समेत जानकारी गराउदै स्थानीय सञ्चार माध्यमहरुमा सूचना प्रकाशित गरेको थियो ।

महानगरले नाला माथिको अतिक्रमण हटाउन दिएको हदम्याद भित्र कतैपनि महानगरवासी आफैले अतिक्रमण हटाएका छैनन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ मा नेशनल ट्रेडिङ चोकदेखि पश्चिम तर्फ कृषि औजार जाने सडक खण्डमा अत्यधिक अतिक्रमण भएको छ ।

एक दशक अघिसम्मको फराकिलो रहेको उक्त सडक खण्डमा अहिले नालामाथि रैम्प बनाएर किराना र किताब पसलहरु सञ्चालनमा आएका छन् । सडक दायां बायां निर्माण भएका नया“ घरहरुको सिढी नाला अतिक्रमण गरि निर्माण गरिएको छ । कतिपयले सडकसमेत अतिक्रमण गरि आफ्नो व्यापार गरिरहेका छन् ।

महानगरले जारी गरेको सूचनाले उक्त सडक खण्डको दाया बाया घर भएका घरधनीहरुलाई कुनै फरक परेको छैन् । नाला र सडक अतिक्रमणका कारण नेशनल ट्रेडिङ देखि कृषि औजार जाने सडकमा दिनहु सवारी जाम लाग्ने गरेको छ । महानगरपालिकाको निर्देशन पालना नभएको सम्बन्धमा वडा अध्यक्ष अजय चौरसिया मौन बसेका छन् ।

हमार वीरगन्जका प्रतिनिधीले नालामाथिको अतिक्रमण नहटेको सम्बन्धमा बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया जनाउन चाहेनन् । उनको मोबाइलमा ४ पटक कल गर्दा पनि उनले कुरा गर्नै चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्