वीरगन्ज महानगरमा बढ्दो बेरोजगारी, ४८ वटा पदका लागि १७ सय जनाको आवेदन

जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्वादाता | २०७९ फागुन १३ गते १०: २२ मा प्रकाशित

वीरगन्ज– आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा पछिल्लो समय बेरोजगारी बढेको पाइएको छ । गत माघ अन्तिम साता महानगरपालिका कार्यालयले विभिन्न पदका लागि आह्वान गरेको सूचनाको आधारमा करिब एक हजार ७ सय जनाले आवेदन दर्ता गराएका छन् ।

महानगरपालिकाले ४८ पदका लागि कर्मचारी आवश्यक रहेको भन्दै दरखास्त आवेदन दिन आह्वान गरेको थियो । खुला प्रतिष्पर्धा बाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले महानगरले गएको माग २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।

जसमध्ये सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटरमा सबैभन्दा धेरै १ हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

चौंथो तहको कम्प्युटर अपरेटरमा ३३ जनाका लागि महानगरले दरखास्त आह्वान गरेको थियो । ३३ जना चौंथो तहको कम्प्युटर अपरेटर माग भएकोमा यसैमा सबैभन्दा धेरै दरखास्त परेको छ, उहाँले भन्नुभयो, अन्य पदहरुमा पनि माग भन्दा धेरै नै आवेदन परेका छन् ।

आवेदन बुझाउने बिहीबार अन्तिम दिन सम्ममा विभिन्न पदमा १ हजार ६ सय ८२ जनाले आवेदन बुझाएको पौडेलले जानकारी दिनुभयो । २ जना सिभिल इन्जिनियरको माग भएकोमा २४ जनाको आवेदन परेको छ । यस्तै १÷१ जनाको माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनियर पदमा क्रमश  २८ र ३१ जनाको आवेदन परेको छ ।

अमीन सहायक चौंथोका लागि ११ जना माग भएकोमा ११९ जनाको आवेदन परेको छ । परीक्षा मिति भने अहिले तय भइ नसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्