परराष्ट्रको हस्तक्षेपका कारण भारतीय राजदुत नआउने भएपछि वीरगन्जको पिप्रा स्थित सडक नामाकरण स्थगीत

एडीबीको अनुदानमा निर्माण भएको पिप्राको लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्ने योजना बाहिरिएसंग स्थानीयले विरोध गर्दै आएका थिए ।

सम्वादाता | २०७९ माघ १८ गते १५: ०८ मा प्रकाशित

वीरगन्ज– जनस्तरको विरोध र परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण भारतीय राजदुत नआउने भएपछि वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत भएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिप्राको सडकलाई महात्मा गान्धी मार्ग नामाकरण भोलि बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा हुने जनाएका थिए । 

एडीबीको अनुदानमा निर्माण भएको पिप्राको लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्ने योजना बाहिरिएसंग स्थानीयले विरोध गर्दै आएका थिए । परराष्ट्रले समेत यसमा चासो लिएको थियो । स्रोतका अनुसार परराष्ट्रले भारतीय महावाणिज्य दुतावासलाई समेत पत्राचार गरि यसबारे जानकारी मागेको थियो । 

 

संघको परामर्श र अनुमति बिना वीरगन्ज महानगरपालिकाले नामाकरण गर्न थालेको थाहापाए पछि भारतीय राजदुत नवीन श्रीवास्तव अन्तिम समयमा नामाकरण कार्यक्रममा नआउने जानकारी गराइएको थियो । श्रीवास्तव नआउने तय भएपछि बुधबार महानगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर , पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

माघ १९ गते बिहीबार वीरगनञ्ज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ । 

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए । उनले यस बारेमा सरोकारवालासंग परामर्श गरेर उक्त कार्यक्रम आयोजना गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्