पर्सा मालपोतबाट ८ जना बिचौलिया पक्राउ

कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने भन्ने पटक पटक गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार टोली खटाएको थियो ।       

सम्वादाता | २०७९ माघ १६ गते ०९: ०२ मा प्रकाशित

वीरगन्ज– मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने ८ जना ‘बिचौलिया’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने भन्ने पटक पटक गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार टोली खटाएको थियो ।         

आइतबार अपराह्न १ बजेतिर प्रहरी टोली पुग्दा बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, सेवाग्राहीलाई अनावश्यक हैरानी दिने ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाए । 

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नं. २७ का ३० वर्षीय दिपक पटेल, अठराहाका २१ वर्षीय सन्तोष राउत, पकाहामैनपुर गाउपालिका वडा नम्बर १ का धर्मेन्द्र सहनी, बहुदरमाई नगरपालिका वडा नम्बर ९ का हरिओम गुप्ता, पकाहामैनपुर– २ का सन्जय चौहान, वीरगन्ज– १९ का राज कुमार साह, वीरगन्ज– २६ का सुशिल साह र वीरगन्ज– २४ का शुभनारायण कोइरी रहेको डीएसपी बुढाथोकीले जनाए । 

उनीहरमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको डीएसपी निर्मल बुढाथोकीले जनाए । 

प्रतिक्रिया दिनुहोस्