१ हजार ८० मत पाउँदा शशि कपूर मियाँ माथि अनेक टिका टिप्पणी

मियाँले मतगणना सकिएको तेस्रो दिन शुक्रबार विहान आफ्नो फेसबुक पेजमा – ‘टुटन सक्छु तर झुक्न सक्दिन्, चोर दलाल फटाहाको जमातले मेरो राजनीतिक चरित्र माथि गलत प्रचार गराएका छन् । राजनीतिक जीवन कठिन संघर्षको कथा हो ।’ लेखेका छन् ।

सम्वादाता | २०७९ मंसिर ९ गते ०८: ०० मा प्रकाशित

वीरगन्ज – पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार रहेका शशि कपुर मियाँ (जिप छाप) ले १ हजार ८० मत पाएपछि यस क्षेत्रमा अनेक टिका टिप्पणी हुन थालेका छन् । उक्त प्रदेश सभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टीका लालबाबु राउत गद्दी विजयी भएका छन् ।

मधेश सरकारका मुख्यमन्त्री समेत रहेका लालबाबुले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामनारायण कुर्मीलाई १ हजार ३ सय ३३ मतले पराजित गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय प्रसाद झाले २ हजार ८ सय ४१ मत ल्याएर तेस्रो स्थान सुरक्षित गरेका छन् । हाम्रो नेपाली पार्टीका ओम प्रकाश शर्राफले २ हजार २९ मत ल्याएका छन् । 

५ औँ स्थानमा रहेका शशि कपूर मियाँले मतगणना सकिएको तेस्रो दिन शुक्रबार विहान आफ्नो फेसबुक पेजमा – ‘टुटन सक्छु तर झुक्न सक्दिन्, चोर दलाल फटाहाको जमातले मेरो राजनीतिक चरित्र माथि गलत प्रचार गराएका छन् । राजनीतिक जीवन कठिन संघर्षको कथा हो ।’ लेखेका छन् ।

पहिलो मधेश आन्दोलनदेखि सक्रिय रहेका मियाँ पर्सामा परिचित अनुहार हुन् । उनका समकक्षी कोही मन्त्री भए त कोही मुख्यमन्त्री समेत बने । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका मियाँले पार्टीबाट टिकट नपाएपछि यसपालीको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

मधेश सरकारका मुख्यमन्त्री लालबाबुको भ्रष्टचारको भण्डाफोर गर्दै उनी चुनावी कुम्भमा होमिएका थिए । नगवा, छपकैया, मुर्ली लगायतका वडाहरुमा उनले गर्ने चुनावी सभा र घरदैलोमा उनका समर्थकहरुको उल्लेखनीय सहभागिता देखिन्थ्यो । तर, जब मतगणना हुँदा मतपेटिकामा मियाँको जीप छापको मतपत्र सोचेको भन्दा धेरै कम निस्कियो ।

शशि कपूर मियाँको जमानत समेत जफत भयो । मात्र १ हजार ८० मत आउँदा अनेक शंका उपशंकाहरु उब्जिन थाल्यो । पराजय पछि बुधबार शशि कपूरले आफ्नो फेसबुकमा मलाई सहयोग गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद छ लेख्दा कमेन्ट गर्ने अधिकांशले चुनावी खर्च लिएर लालबाबु राउत गद्दीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

कतिपयले मुख्यमन्त्रीलाई सहयोग गरेकोमा तपाईलाई पनि धन्यबाद छ भन्दै कटाक्ष समेत गरेका छन् ।  सामाजिक सञ्जाल र बजारमा समेत मियाँ प्रति आलोचनाको स्वर बढ्दै गएपछि उनले शुक्रबार विहान चोर दलाल फटाहाको जमातले राजनीतिक चरित्र माथि गलत प्रचार गरिरहेको दाबी गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत प्रति यसपालीको चुनावमा व्यापक आक्रोश र असन्तुष्टि रहेको बताइएको थियो । छोरीको लागि साइकल खरिद प्रकरण, पोखरी सौन्दर्यीकरण लगायतका अनियमितताले उनी अलोकप्रिय थिए ।

शशि कपूरले लालबाबु राउतको अधिकांश असन्तुष्ट मत पाउने आंकलन गरिएको थियो । तर, शशि कपूर मात्र १०८० मा प्याक भएपछि लालबालु राउत गद्दीसँग उनले ‘साँठगाँठ’ गरेको आरोप लागेको हो ।  

प्रतिक्रिया दिनुहोस्