प्रदीप यादव विजयी भएसँगै तोडियो २०४८ यताको रेकर्ड

२०४८ यता भएका हरेक निर्वाचनमा यस क्षेत्रमा एक पटक निर्वाचित संसद प्रतिनिधी दोस्रो पटक दोहोरिएका थिएनन् ।

सम्वादाता | २०७९ मंसिर ८ गते १५: ४५ मा प्रकाशित

वीरगन्ज– पर्साको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव दोहोरिएर निर्वाचित भएका छन् । यादव निर्वाचित भएसँगै पर्सा १ मा २०४८ देखि बन्दै आएको एउटा रेकर्डको क्रमभंग भएको छ । पूर्व मन्त्री प्रदीप यादवले एक हजार ६ सय २० मतले स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई पराजित गरेका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति रहेका द्धिवेदीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

जसपा एमाले गठबन्धनका उम्मेदवार यादवले २२ हजार ५ सय ३७ मत ल्याएका छन् भने संविधानसभा सदस्य समेत रहेका द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले १ हजार १ सय १७ मत पाएका छन् । 

२०४८ यता भएका हरेक निर्वाचनमा यस क्षेत्रमा एक पटक निर्वाचित संसद प्रतिनिधी दोस्रो पटक दोहोरिएका थिएनन् । बुधवार स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई पराजित गरि यादवले नयाँ रेकर्ड कायम गरेका छन् । यस अघि यो क्षेत्रबाट निर्वाचित प्रतिनिधी दोहोरिएर निर्वाचित भएका थिएनन् । यादव २०७४ मा भएको आम निर्वाचनमा समेत विजयी भएका थिए । त्यसबेला उनले कांग्रेसका अनिल रुंगटालाई पराजित गरि पहिलो पटक संसद प्रवेश गरेका थिए । 

 

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि २०४८ मा भएको निर्वाचनमा पर्सा १ बाट कांग्रेसका आत्माराम ओझा निर्वाचित भएका थिए । २०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजीव पराजुली विजयी भए । २०५६ को निर्वाचनमा कांग्रेसले कृष्णप्रसाद भटराईलाई पर्साको १ बाट निर्वाचन लडाएको थियो । भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्दै चुनावी मैदानमा होमिएका भटराई जितेका थिए ।

चुनाव जितेर उनी प्रधानमन्त्री पनि भएका थिए । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन मधेशी जनअधिकार फोरमकी करिमा बेगम निर्वाचित भइन् । बेगमले कांग्रेसका राजेन्द्र बहादुर अमात्यलाई पराजित गरेको थिइन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा अमात्यले बेगमलाई पराजित गरेका थिए ।

संविधान जारी भएपछि २०७४ मा भएको आम निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट प्रदीप यादव विजयी भएका थिए । यादवले जनताको बीचमा रहेर काम गर्दै आएकाले आफू दोस्रो पटक निर्वाचित भएको बताउँछन् । ‘अधुरा रहेका योजनाहरु पुरा गर्नेछौँ,’ उनले भने, ‘नागरिकताको मुद्दा सम्बोधन गराउन फेरि संसद भवनमा आवाज बुलन्द गर्ने छु ।’ 

प्रतिक्रिया दिनुहोस्