पर्साको ४ (क) का एमाले उम्मेदवार जयप्रकाश थारुसँग एमालेकै नेताले गर्दै छन् धोखा !

जालिम र कृष्णमोहनको यो सहकार्यले पर्साको निर्वाचन क्षेत्र नम्बर ४(क) मा एमालेका उम्मेदवार जयप्रकाश थारुलाई पूर्ण रुपले घाटा हुने देखिन्छ ।

सम्वादाता | २०७९ मंसिर १ गते २३: ३२ मा प्रकाशित

पर्सा– नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु उम्मेदवार रहेको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा गज्जबको समिकरण विकसित भएको देखिएको छ । माओवादी केन्द्रमा केही महिना अगाडि मात्र गएका बिरेन्द्र यादवले प्रदेश सभामा टिकट नपाएपछि त्यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनलाई कृष्ण मोहन यादवले सघाएका छन् । कृष्ण मोहन गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जगरनाथपुर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । उनले जसपाबाट टिकट पाएका थिए । स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारमा हिडिरहेका कृष्णमोहनको घरमा ४ दिन अगाडि एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार जालिम मियाँ मन्सुरी समूहका लागि भोज भतेरको आयोजना गरिएको थियो ।

उक्त भोजमा त्यही क्षेत्रका एमालेका प्रदेश सभा उम्मेदवार तथा पार्टीका जिल्ला अध्यक्ष जय प्रकाश थारु अनुपस्थित रहेका थिए ।  यसैगरि गत स्थानीय चुनावमा एमालेको टिकटबाट जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोलाको अध्यक्षमा उठेका समसुलहक प्रदेश सभाका स्वतन्त्र उम्मेदवार बिरेन्द्र यादवको प्रचार प्रसारमा हिडिरहेका छन् ।

समसुलहक मियाँ धुनियाले ७२६ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । कांग्रेसका नेपाली प्रसाद कुशवाहाले ९३९ मत ल्याएर विजयी भएका थिए । समसुलहक जयप्रकाशको लागि भोट मागेका छैनन् । 

राजनीतिक जानकारका अनुसार एमालेका समसुलहक मियाको समूहले प्रदेश सभा उम्मेदवारको ब्यालेट (मतपत्र)मा स्वतन्त्र उम्मेदवार विरेन्द्र यादवलाई मत दिने र प्रतिनिधी सभाको ब्यालेटमा कृष्ण मोहनको समूहले जालिम मियाँलाई मत हाल्ने आन्तरिक सहमति भएको छ । 

 

जालिम र कृष्णमोहनको यो सहकार्यले पर्साको निर्वाचन क्षेत्र नम्बर ४(क) मा एमालेका उम्मेदवार जयप्रकाश थारुलाई पूर्ण रुपले घाटा हुने देखिन्छ । ‘कृष्णमोहन यादव र जालिम मियाँ एउटै गाउँपालिकाको भएकाले दुबैले मत आदान प्रदान गर्ने रणनीति बनाएका हुन्,’ जानकीटोलाका एक स्थानीय भन्छन्, ‘विधायकमा स्वतन्त्रलाई र संसदमा सूर्यमा भोट हाल्ने योजना कृष्णमोहन र जालिमले बनाएका छन्, यो रणनीतिले प्रदेश सभाका उम्मेदवार जयप्रकाशलाई घाटा हुने छ ।’

२०७४ र २०७९ मा जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा चुनाव लडेका कृष्णमोहन दुबै पटक पराजित भएका छन् ।   

प्रतिक्रिया दिनुहोस्