सिंगासनलाई प्रश्न गर्दा, समर्थकले भाँचिदिए दलित युवाको नाक

नाकको अपरेशन नहुँदा दलित युवक पीडामा

सम्वादाता | २०७९ मंसिर १ गते २१: ५० मा प्रकाशित

पर्सा– पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका दलित परिवारका एक युवकले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह कलवारलाई प्रश्न गर्दा कुटिएका खुलासा भएको छ । मुक्का प्रहारले ती दलित युवकको नाकको हड्डी भाँचिएको छ । डाक्टरले अपरेशन गर्नुपर्ने बताएका छन् ।

कुटपिट गर्नेले युवकको समयमै नाकको अपरेशन नगराएकाले घटना सार्वजनिक भएको हो ।  कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका सन्जिव कुमार पासवानको नाकको हड्डी भाचिएको हो । पासवानलाई कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कलवारका दाई अरविन्द कलवारले कुटेका हुन् । वशिष्ठका काका दिनेश कलवार सिंगासनको समर्थक हुन् ।

 

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) प्रदेश सभाका लागि निवर्तमान सांसद सिंगासन साह कलवारले उम्मेदवारी दर्ता गराएको एक हप्तापछि मुडलीमा पुगेर युवाहरुको भेला गराएका थिए । उक्त भेलामा दिनेश र अरविन्द पनि सहभागि थिए ।  युवालाई संगठित बनाउने उद्देश्यले सिंगासनले भेला राखेका थिए । संगठित युवालाई चुनावी अभियानमा परिचालन गर्ने उनको उद्देश्य थियो ।

युवाहरुलाई मनमा लागेको प्रश्न सोध्न सिंगासनले भनेका थिए । सन्जिव पासवानले विधायकजी जितेर गएको ५ वर्षमा के गर्नुभयो ? ५ वर्षमा युवा संगठनको आवश्यकता कहिले परेन्, अहिले चुनावको मुखमा तपाईलाई किन युवा चाहियो ? भनेर प्रश्न गरेका थिए ।  पासवानको प्रश्नले सिंगासनले असहज महशुस गरेका थिए ।

‘युवा भेलामा विधायकको उम्मेदवार सिंगासन कलावारलाई प्रश्न गर्दा मलाई टारगेटमा राखेका थिए,’ पासवास भन्छन्, ‘त्यसको ३ दिनपछि अरविन्द कलवारले मलाई कुटपिट गरिहाले ।’ अरविन्दले हिर्काएको एउटा मुक्का पासवानको नाकमा बजारिएको थियो । जसले गर्दा पासवानको नाकको हड्डी भाँचिएको थियो ।

घटनालाई लुकाउन पासवानलाई उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेज लगिएको थियो । डाक्टरले नाकका हड्डी भाँचिएकाले अपरेशन गर्नुपर्ने सुझाव दिएका थिए । अपरशेनमा पैसा खर्च हुनेभएपछि सिंगासनका समर्थकहरुले वीरगन्जकै डा.वीरसिंह थापा र कुशवाहा थरका एकजना अर्को डाक्टरसँग पनि पासवानको नाक देखाएका थिए ।

उनीहरुले पनि अपरेशन नै गर्नुपर्ने सुझाव दिएका थिए । पासवानका अनुसार त्यसपछि छठ पछि अपरेशन गर्ने भनेका थिए । ‘तर, अहिले छठ बितेको पनि दुई हप्ता भइसक्यो,’ पासवानले भने, ‘अब चुनावमा सहयोग गरे मात्र अपरेशन गर्ने भनेका छन्, भाँचिएको नाक लिएर बस्नु परेको छ ।’ चुनावमा सहयोग गरेपछि मात्र अपरेशन गर्न भनिरहेका छन् । उपचार नगराइदिएपछि पासवान इलाका प्रहरी कार्यालय पोखरियामा पनि गएका थिए ।

‘प्रहरीले पनि उनीहरुलाई उपचार गराउन आदेश दिएको छ,’ पासवानले भने, ‘तर, पैसा र पावर उनीहरुसँगै छ, हामी दलितको दुख कसले हेर्छ ?’ नाकको हड्डी भाँचिएकाले साँस फेर्दा झन दुख्ने गरेको पीडा पासवानले सुनाए । 

प्रतिक्रिया दिनुहोस्