मैले जसपा उम्मेदवार डा.मधु गुप्तालाई सघाएको समाचार गलत हो : विन्दवासिनी गापा अध्यक्ष प्रमोद तिवारी

उम्मेदवारसँग पैसा लिएर प्रोपोगन्डा फैलाउने मिडियासँग सतर्क रहन आग्रह

वीरगन्ज– पर्साको विन्दवासिनी गाउँपालिकाको अध्यक्ष प्रमोद तिवारीले जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार डा. मधु गुप्तालाई सघाइरहेको समाचार एउटा प्रोपोगन्डा मात्र रहेको पुष्टि भएको छ । 

जसपा उम्मेदवार मधुलाई विन्दवासिनी गाउँपालिका प्रमुखले सघाइरहेको भनि आएको समाचारमा कुनै सत्यता नरहेको अध्यक्ष तिवारीले पुष्टि गरेका हुन् । आफै घरदैलोमा आउने अनि तस्बिर खिचेर आफैले प्रोपोगन्डा फैलाउने काम गरिएको छ । 

विन्दवासिनी गाउँपालिका वडा नम्बर १ गर्दौल स्थित निवासमा अध्यक्ष तिवारी बसिरहेको बेलामा डा.मधु सहयोगी सहित बुधबार विहान पुगेकी थिइन् । ‘घरमै आएपछि चौकीमा बसाएर चिया खुवाएको हुँ,’ गाउँपालिका अध्यक्ष तिवारी भन्छन्, ‘त्यही बेला मधुका सहयोगीले तस्बिर लिएर आफू निकटका पत्रकारलाई दिएछन् । मैले मधुलाई सघाएको छैन् ।’

तिवारी आवद्ध रहेको लोकतान्त्रिक समाजवादी पार्टी ५ दलीय गठबन्धनमा रहेको छ ।  चुनावको बेला आउने फेक समाचार प्रति सजग रहन उनले आग्रह गरेका छन् । पैसावाला उम्मेदवारसँग आर्थिक सहयोग लिएर उसको पक्षमा हुँदै नभएको माहौल बनाउनमा पछिल्लो समय वीरगन्जका केही अनलाइनहरु सक्रिय रहेको आम सर्वसाधारणको बझाई बन्दै गएको छ । 

त्यस्ता अनलाइनका विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा युवाहरुले खुला रुपले विरोध जनाएका छन् । लगातार गलत सामाचार प्रकाशित गर्ने अनलाईन न्युज पोर्टल विरुद्ध अनफ्लो अभियान समेत सुरु भएको हरपतगन्जका सन्नी कुमारले बताउँछन् । ‘अहिलेको डिजिटल युगमा पैसा लिएर धेरै दिन प्रोपोगन्डाको धन्दा चल्दैन्,’ सन्नी भन्छन्, ‘जनता बेवकुफ छैनन् ।’   

प्रतिक्रिया दिनुहोस्