पोखरी सौन्दर्यीकरणको नाममा पोखरीको अस्तित्व ‘नामेट’ गर्दै मुख्यमन्त्री लालबाबु र सिंगासन

छोरीको साईकल खरिदमा भ्रष्टचार पछि पोखरी सौन्दर्यकरणको अनियमिततामा समेत मुछिँदै

सम्वादाता | २०७९ कार्तिक २६ गते १०: ०६ मा प्रकाशित

वीरगन्ज – मधेश प्रदेश सरकारले प्रदेश भित्रका सार्वजनिक पोखरीहरुको सौन्दर्यीकरण अन्तर्गत पर्सा जिल्लाको नगवा, मुरली, लक्ष्मनवा, निचुटा, छिपहरमाई समेत ५ वटा पोखरीको सौन्दर्यीकरणको काम अगाडि बढाएको छ । 

पर्साको ५ वटा पोखरी मध्ये ३ वटा पोखरी सौन्दर्यीकरणको ठेक्का जनता समाजवादीबाट निर्वाचन क्षेत्र नम्बर ४(ख) का उम्मेदवार सिंगासन साह कलवारको श्रीमती सञ्चालक रहेको रोशन निर्माण सेवा कम्पनीले पाएको छ । 

मधेशका पोखरी सौन्दर्यीकरणको नाममा करोडौँको ठेक्का आफू निकटका सांसदको निर्माण कम्पनीलाई दिएर मुख्यमन्त्री लालबाबु राउतले अनियमितता गरेको आरोप लाग्दै आएको छ । सौन्दर्यीकरणको नाममा पोखरीको अस्तित्व नै नामेट गरेको स्थानीयले दाबी गरेका छन् ।  

 

महालेखापरीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ ले समेत मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यीकरणमा अनियमितता भएको आँैल्याएको छ । मधेश प्रदेशको महालेखापरीक्षकको चौठो वार्षिक प्रतिवेदनले पर्साको पोखरी सौन्दर्यीकरण कार्यका लागि २३ करोड ९० लाखको खरिद सम्झौता गरी निर्माण व्यवसायीलाई १६ करोड ८ लाख भुक्तानी गरेको छ । 

उक्त निर्माण कार्यको लेखापरीक्षणको क्रममा अवलोकन गरिएकोमा पोखरीहरुको पुरानो स्वरुपको अधिकांश भाग बाहिरबाट माटो ल्याई पुरेको, कंक्रिट संरचना निर्माण गरेकोमा ठाउँठाउँमा भत्केको, गुणस्तरयुक्त काम नभएको, तत्काल माटो फिलिङ गरेको स्थानमा कंक्रिट संरचना निर्माण गरेको, डिपिआरलाई बेवास्था गरी काम गराएको, पोखरीको डिलमा पिलर समेत नराखी भवन निर्माण गरेको, सोलार लाईट जडानको भुक्तानी भएकोमा सबै स्थानमा लाईट जडान नगरेको, पोखरीको काम अधुरो अवस्थामा रोकिएको स्थिती देखिएको छ । 

 

सौन्दर्यीकरण कार्य गरेका सबै पोखरीको जग्गाको क्षेत्रफल यकिन हुनुपर्दछ । साथै प्राविधिकबाट पोखरी निर्माण कार्यको गुणस्तर यकिन गरी देखिएका त्रुटि सम्बन्धमा आवश्यक कारवाही गरी पोखरीको उचित संरक्षण गर्नुपर्दछ भनि महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्