२०७४ को चुनावमा जम्मा ९५ मतले पराजित भएका जर्नादन सिंह क्षेत्री यसपाली फराकिलो मतान्तरले विजयी हुने सम्भावना 

क्षेत्रको कूल १९ मध्ये १४ वडामा कांग्रेसको वडाध्यक्ष जितेका र प्रतिस्पर्धी दलका मत बागी उम्मेदवार बीच बाँडिदा कांग्रेस जिल्ला सभापति जर्नादिन सिंह क्षेत्रीलाई यसपालीको निर्वाचनमा जित निकाल्न सहज देखिएको राजनीतिक जानकारहरुले टिप्पणी गरेका छन् । 

सम्वादाता | २०७९ कार्तिक २४ गते १६: २७ मा प्रकाशित

पोखरीया– २०७४ को पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालिन संघीय समाजवादी फोरम नेपालका प्रहलाद गिरीसँग जम्मा ९५ मतले कांग्रेसका जर्नादन सिंह क्षेत्री पराजित भएका थिए । ६ महिना लामो मधेश आन्दोलन र नाकाबन्दीको राप तापमा २०७४ को निर्वाचनमा मधेशवादी दलले पर्सामा प्रदेश सभाको ८ वटा सिट मध्ये ६ वटामा जित निकालेका थिए ।

फोरमका प्रहलाद गिरीले ६ हजार ३ सय ४५ मत ल्याउँदा कांग्रेसका जर्नादन सिंह क्षेत्रीले ६ हजार २ सय ५० मत पाएका थिए । माओवादीका छोटेलाल यादवले ४ हजार ३ सय ४६ मत ल्याएका थिए ।  जर्नादन सिंह क्षेत्री हालै नेपाली कांग्रेस पर्साको सभापति विजयी भएका छन् । पर्सा ३ (ख) बाट यसपालीको निर्वाचनमा समेत जर्नादनले उम्मेदवारी दिएका छन् ।

फोरम पार्टी अहिले जनता समाजवदी पार्टी (जसपा) भएको छ । जसपाले निलम्बित सांसद हरिनारायणको छोरी डा.मधु गुप्तालाई टिकट दिएको छ । जसपाकै युवा नेता गौरी शंकर साहले टिकट नपाएपछि नेपाल सुशासन पार्टी प्रवेश गरि उम्मेदवारी दिएका छन् । निवर्तमान प्रदेश सांसद प्रहलाद गिरी जसपा परित्याग गरि एमाले प्रवेश गरेका थिए ।

 

एमालेले टिकट नदिएपछि उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट त्यही क्षेत्रमा उम्मेदवारी दिएका छन् । राजनीतिक जानकारका अनुसार कांग्रेसबाट कोही पनि बागी नहुनु, पछिल्लो समय मधेशवादी दल एजेन्डा विहिन हुनु र जसपाको उम्मेदवार विरुद्ध गौरी दादा र निवर्तमान सांसद गिरीले उम्मेदवार दिँदा कांग्रेसको जनमत एक ढिक्का देखिन्छ भने जसपाको जनमत तिन तिर बाँडिएको छ ।

जसले गर्दा जर्नादन सिंह क्षेत्री अन्य प्रतिस्पर्धी भन्दा दुई कदम अगाडि देखिन्छन् ।  यसको अलावा पर्सा निर्वाचन क्षेत्र नम्बर ३(ख)मा कूल १९ वटा वडा रहेका छन् । जसमध्ये गत बैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले १४ वटा वडा जितेको छ । जसपाले २, माओवादी, एमाले र सुशासन पार्टीले १/१ वटा वडा जितेका छन् ।

पर्साको ३(ख) मा विन्दवासिनी गाउँपालिकाको ५ वटा वडा, पकहामैनपुर गाउँपालिकाको ४ वटा वडा, पोखरिया नगरपालिकाको ६ वटा वडा र बहुदरमाई नगरपालिकाको ४ वटा वडा पर्छन् । क्षेत्रको कूल १९ मध्ये १४ वडामा कांग्रेसको वडाध्यक्ष जितेका र प्रतिस्पर्धी दलका मत बागी उम्मेदवार बीच बाँडिदा कांग्रेस जिल्ला सभापति जर्नादिन सिंह क्षेत्रीलाई यसपालीको निर्वाचनमा जित निकाल्न सहज देखिएको राजनीतिक जानकारहरुले टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्